चितवन, भदौ ६ – चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । २०७६ साल भदौ ३१ गते निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा भाले बयस्क गैँडाको तस्कर अभियोगमा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मकवानपुरको वागमती गाउँपालिका ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् । उक्त घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका २८ का जितवहादुर कुमाल र ३३ वर्षीय तारा चेपाङ यस अघि नै पक्राउ परेका थिए । उनीहरुलाई कारागारबाट भिकाएर अनुसन्धान थालिएको थियो । निकुञ्जले पाँचै जनालाई आज सार्वजनिक गरेको हो ।
गैँडा मारेर खाग धारीलो हतियारले काटेर विक्रि वितरण सहितको पुरै घटनाका अझै १० जना प्रतिवादीहरु फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । पक्राउ परेका रण बहादुर भन्ने जित बहादुर कुमाल तथा फरार प्रतिवादीहरु रामबहादुर प्रजा र बमबहादुर प्रजाले गैंडा मारेर खाग काटी विरबहादुर बस्नेतलाई बेचेको र उनले पनि काठमाडौंमा लगेर बेचेको र खाग मेघबहादुर नेपालीले ५५ लाखमा बिक्री गरी विरबहादुर नेपालीलाई ५० लाख दिएको र उनले अन्य प्रतिवादीहरुलाई समेत पैसा बाँडेको अनुसन्धानबाट खुलेको बरालले बताए ।
पक्राउ परेका र नियन्त्रण लिएका पाँचै जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइने बरालले जानकारी दिए।