चितवन । कालिका नगरपालिका वडा नम्बर ६ मा एकै परिवारका हजुरआमा र नातिनी ८ दिनदेखि वेपत्ता भएका छन् । स्थानीय ६४ वर्षीया हजुरआमा चन्द्रकुमारी भट्ट र २४ वर्षीया नातिनी सिता भट्ट साउन ३२ गतेदेखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । परिवारजनका अनुसार ३२ गते दिउँसो सोमबार १ बजे घरबाट निस्किएका उनीहरु अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
पारिवारिक स्रोतका अनुसार सोमबार १ बजे चन्द्रकुमारी घरबाट निस्किएको केही समयपछि नातिनी सिता पनि निस्किएकी थिइन । परिवारका एक सदस्यका अनुसार चन्द्रकुमारी चिया खानका लागि दिनमै चार पटकसम्म खोलेसिमल बजार जाने गरेकी थिईन् ।
‘उक्त दिन पनि परिवारको सदस्यलाई उनी खोलेसिमल बजार नै गएको भन्ने लाग्यो ।
तर अबेरसम्म पनि उहांँहरु फर्किनु भएन ।’ ती सदस्यले भने । उनीहरु नफर्किएपछि खोजी कार्य सुरु गरेको परिवारले जानकारी दिएको छ । आफन्त इष्ट मित्रदेखि देवघाट लगायतका सम्भावित स्थानमा खोज्दा पनि अहिलेसम्म नभेटिएको परिवारका ती सदस्यले बताए । दुबै जना बेपत्ता भएपछि परिवारले १ गते मंगलबार ईलाका प्रहरी कार्यालय रत्ननगरमा निवेदन दिईसकेको छ । प्रत्यक्षदर्शी एक छिमेकीका अनुसार चन्द्रकुमारी साडी र टिसर्ट तथा सिता सेतो टिसर्ट र सुरुवाल लगाएर घरबाट निस्किएका थिए । चन्द्रकुमारी घरबाट निस्किएको १० मिनेटमा सिता पनि घरबाट निस्किएकी ती छिमेकीको भनाई छ ।