रत्ननगर । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवन पोष्टकर्मी होमनाथ सापकोटालाई प्रदान गरिएको छ । महासंघको २२औं स्थापना दिवसको अबसरमा सौराहामा आयोजित कार्यक्रममा चितवन पोष्ट दैनिकका संवाददाता सापकोटालाई उक्त पुरस्कृत प्रदान गरिएको हो ।
खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा पत्रकारिता मार्फत योगदान गरेको भन्दै सापकोटालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदिप यादव, महासंघका अध्यक्ष राजेन्द्र अर्याल, बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगन्नाथ थपलिया, खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पत्रकार सापकोटालाई सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरेका हुन ।
पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष सापकोटा विगत २२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । छापा पत्रकारितातर्फ सापकोटासहित टेलिभिजनतर्फ एभिन्यूज टेलिभिजनका रमेशचन्द्रराज भण्डारी, रेडियोतर्फ रेडियो परासीका मेघराज गौतम, अनलाइनतर्फ उकेरा डटकमका जगतदल जनाल विकलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको महासंघका महासचिव इन्द्र तामाङले जानकारी दिए ।