चितवन । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसर पारी भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा मंगलबार बृहत् साइकल र्यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित र्यालीमा १० वर्षे बालकसहित ८० जनाको सहभागिता रहेको थियो ।
अङ्कुरम् एकेडेमीदेखि वनदेवी गेट, बिसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एण्ड रिसोर्टसम्म करिब ३० किलोमिटरको दुरीमा उक्त साइकल र्यालीको आयोजना गरिएको हो । अङ्कुरम् एकेडेमी र चितवन साइकल राइडर्स क्लबको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा भएको उक्त साइकल र्यालीमा १० वर्षे बालक सुशील कुमालसमेत सहभागी थिए ।
भरतपुर महानगरपालिका वडा नं.७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा चितवन राष्ट्रिय मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना प्रमुखअतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यापर्यटनको प्रचारप्रसार र प्रवद्र्धन तथा स्वास्थ्यका लागि साइकल संस्कृतिको विकास महत्त्वपूर्ण रहेको बताए । ‘साइकल चढ्ने बानी स्वास्थ्यका दृष्टिकोणले राम्रो त हुन्छ नै, साइकल संस्कृतिको विकासले इन्धन खरिदका लागि विदेसिने रकम बचत भई केही हदसम्म भए पनि परनिर्भरता घट्छ’, उनले भने । ढुङ्गानाले पर्यापर्यटनको प्रवद्र्धनका लागि फेरिफेरि पनि यस्ताखाले कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
सहभागीलाई टि–सर्ट तथा प्रमणपत्र वितरण गरिएको र्यालीको समापनपछि आयोजित लक्की ड्रमार्फत चार जनाले पञ्जा र हेलमेटलगायतका सामग्री पाएका थिए । कार्यक्रममा एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरले चिकित्सा सहायता तथा एम्बुलेन्स व्यवस्थापन र डिआर साइकल स्टोर्सले मर्मत सम्भारको भूमिका निर्वाह गरेको कार्यक्रमको संयोजन गरेका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।
विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नयाँ गोरख गणका सेनानी जीवन बस्नेतलगायतको उपस्थिति रहेको थियो ।