गलकोट (बागलुङ) । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गर्नुभएको छ । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उहाँ नागरिकताबाट वञ्चित हुनुभएको बारेमा उजागर भएको थियो ।
सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उहाँ ‘धान्द्रुके बाजे’ उपनामले चिनिनु हुन्थ्यो । उहाँले नागरिकता प्राप्त गर्नुभएसँगै पहिलोपटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गर्नुभएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।
लामो समयदेखि भकुण्डेमा बस्दै आउनुभएका उहाँ बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन हुनुभएको थियो । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुहुन्थ्यो । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
“सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो”, खड्काले भन्नुभयो ।
बाँसका सामग्री बनाउँदै आउनुभएका उहाँको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो । रासस









