गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा आज हिमाल सागरसहितका चर्चित कलाकारहरु आउने भएका छन् ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज सोमबार महोत्सवमा हिमाल सागर सहित कलाकारहरु श्यामकला भण्डारी, शिव हमाल र दीपक खड्काको प्रस्तुती रहनेछ । त्यसैगरी, स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न आयोजना गरिएको भजन प्रतियोगितामा सञ्चालन हुने लम्सालको भनाइ छ । भजको संरक्षण गर्दै स्थानीय कला र संस्कृतिलाई जगेर्ना गर्न महोत्सव स्थलमा भजन प्रतियोगिता आयोजना गरिएको भन्दै लम्सालले प्रतियोगिताम १८ टिमको सहभगिता रहेको जानकारी दिए ।
आज सोमबार नारायणको बजार बन्द हुने भएकाले स्थानीय व्यापारीहरुको समेत महोत्सवम उपस्थिति रहने अपेक्षा गरिएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकाराम सापकोटाले जनकारी दिए । आयोजकले अपेक्षा गरेअनुसार नै महोत्सवमा दर्शकहरुको आकर्षण देखिएको भन्दै सापकोटाले माघ १० गतेसम्म महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने बताए । महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने उनको भनाइ छ ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सव मूल संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए । कँडेलकाअनुसार ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।










