गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा शनिबार कलाकारलाई दर्शकको साथ मिलेको छ ।
साँझ पर्दै गएपछि स्टेज उक्लिएकी गायिका एन्जिला रेग्मीले दर्शकलाई मञ्च वरिपरी आउन बाध्य पारिन् । एन्जिलालाई दर्शकले मजैसँग साथ दिए । एन्जिलाको गीतमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । एन्जिलाले गाउँदै गर्दा मञ्चमा उक्लिएकी चर्चित गायिका ज्योति मगरलाई दर्शकले साँझ अबेरसम्म साथ दिए ।
शनिबार साँझ ६ बजेतिर ज्योति मञ्चमा उक्लिदा दर्शकको हुटिङले ज्योतिलाई हौसायो । उनले गीत गाउने बेलासम्म दर्शकहरुको पूरै साथ पाइन् । मगरले आफ्ना चर्चित गीतमार्फत दर्शक दीर्घामा रहेकाहरुलाई नचाउँदै उफारेकी थिइन् ।
शनिबार चौथो गैँडाकोट महोत्सवको १८ हजार बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य
संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार शनिबार महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । सापकोटाकाअनुसार महोत्सवस्थलमा दिनप्रतिदिन दर्शकहरुको आकर्षण बढ्दै गएको छ ।
पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए । महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुनेभन्दै सापकोटाले महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यान रहेको जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, आइतबार महोत्सवमा चर्चित गायिका मेलिना राईसहितका कलाकारहरुको प्रस्तुती रहने महोत्सवको सांँस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसार आइतबार महोत्सवमा अन्य कलाकारहरु सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतको प्रस्तुती रहनेछ ।











