चितवन । भरतपुर महानगरपालिका–७ स्थित श्री पञ्चेश्वर महादेव शिवमन्दिरमा शिवमहापुराण ज्ञानमहायज्ञ हुंँदैछ । मन्दिरको संरक्षण, भौतिक पूर्वाधार विकास, जेष्ठ नागरिक भवन सम्पन्न गर्ने उद्धेश्यसहित शिवमहापुराण धनधान्याञ्चल ज्ञानमहायज्ञ–२०८२ आयोजना हुने भएको छ ।
महायज्ञ यही २०८२ माघ २३ गतेदेखि फाल्गुन ४ गतेसम्म महाशिवरात्रीको पावन अवसरमा सञ्चालन हुनेछ। सुप्रसिद्ध कथावाचक आचार्य रामानुजदास सन्तोष गुरुजीको मुखारविन्दबाट संगीतमय शिवमहापुराण कथा वाचन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकारद्वारा भजन–कीर्तन, देवलीला झाँकी तथा चेतनामूलक नाटकसमेत प्रस्तुत गरिनेछ। माघ २३ गते बिहान भव्य शोभा कलशयात्रासहित कार्यक्रम उद्घाटन हुनेछ भने दैनिक बिहान सुप्रभात पाठ, पूजा, दिउँसो कथा वाचन र राति सत्संग तथा भजन सञ्चालन हुनेछ।
महायज्ञमा विभिन्न दान सहयोग अनुसार सम्मानको व्यवस्था गरिएको छ। साथै ग्रहशान्ति, चौरासी पूजा, व्रतबन्ध, लाखबत्ती, शुभ विवाह, भूमिदान, तुलादानजस्ता विशेष कर्म गर्न सकिनेछ।
आयोजकले सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजनलाई सपरिवार उपस्थित भई पुण्य आर्जन गर्न हार्दिक अनुरोध गरेको छ।











