चितवन । चितवनको भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालले सुपरस्पेशालिटी सेवा शुरु गरेको छ । अस्पतालले शनिबार विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरुलाई अस्पतालमा स्वागत गर्दै सुपरस्पेशालिटी सेवा शुरु गरेको हो ।
अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालक डा.भोजराज अधिकारीले चिकित्सकहरुलाई स्वागत गर्नुभएको छ । जनरल एण्ड युरो सर्जन डा. रोबल लाकौल र डा. अमितकुमार झा, न्यूरो फिजिसियन डा. प्रदिप पन्थी, ग्यास्ट्रो फिजिसियन डा. कमल लामिछाने, जनरल तथा ल्याप्रकोस्कपी सर्जन डा. विश्वास गुरुङ र हेमाटोलोजिष्ट डा. शंकर बास्ताकोटीलाई स्वागत गरिएको हो ।
न्युरो मेडिसिन (स्नायु रोग सेवा) अन्तर्गत डा. प्रदिप पन्थीले अस्पतालमा न्युरो सम्बन्धी सेवा प्रदान गर्नुहुनेछ । उहाँले मुख्यगरी पक्षघात (स्ट्रोक), टाउको दुखाइ, छारे रोग, बिर्सिने समस्या (अल्जाइमर र पार्किन्सन) का साथै नशा च्यापिने र ढाड दुखाइ जस्ता समस्याहरूको उपचार गर्नुहुनेछ । अस्पतालले अब यस क्षेत्रमा पूर्ण न्युरो सेन्टरको रूपमा सेवा दिने लक्ष्य राखेको छ ।
यसैगरी ग्यास्ट्रो इन्टेरोलोजी (पेट तथा कलेजो रोग) सम्बन्धी समस्या डा. कमल लामिछानेले हेर्नुहुनेछ । पेट, आन्द्रा, कलेजो र प्यान्क्रियाज सम्बन्धी समस्याहरूको विशेषज्ञ उपचारका लागि डा. लामिछाने अस्पतालमा जोडिनुभएको हो । उहाँको उपस्थितिसँगै अस्पतालमा इन्डोस्कोपी, कोलोनोस्कोपी र पेट सम्बन्धी जटिल रोगहरूको उपचार स्थानीय स्तरमै सहज उपलब्ध हुने भएको छ ।
यसैगरी युरोलोजी (मृगौला तथा मुत्र रोग) सम्बन्धी सेवा जनरल एण्ड युरो सर्जन डा. रोबल लाकौल र डा. अमितकुमार झाको टिमले मृगौला, पिसाब थैली र मुत्र नली सम्बन्धी पत्थरी तथा क्यान्सरको उपचार सेवा दिनुहुनेछ । अस्पतालले मिनिमल इन्टरभेन्सन सर्जरी (कम चिरफार गर्ने प्रविधि) मार्फत पत्थरी र क्यान्सरको शल्यक्रिया सेवालाई प्रभावकारी बनाउने जनाएको छ ।
यस्तै जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा डा. आशिष पुनको नेतृत्वमा हुँदै आएको छ। दुर्बिन प्रविधि मार्फत पित्तथैली, एपेन्डिसाइटिस र पेटका विभिन्न क्यान्सरहरूको शल्यक्रिया सेवा उहाँले प्रदान गर्दै आउनुभएको छ । सोही टिमले मुखबाट पाइप हालेर पित्तको नलीको पत्थरी निकाल्ने ईआरसिपी प्रविधि मार्फत सेवा दिईरहनु भएको छ ।
अस्पतालमा रगत सम्बन्धी रोगको सेवा पनि शुरु भएको छ । चितवनमा रगत सम्बन्धी विशेषज्ञको अभावलाई मध्यनजर गर्दै अंको हेमाटोलोजिष्ट डा. शंकर बास्ताकोटी अस्पतालमा आबद्ध हुनुभएको हो । यसले गर्दा रगतको क्यान्सर र अन्य जटिल समस्या भएका बिरामीहरूले अब रिपोर्ट र उपचारका लागि काठमाडौँ गइरहनु नपर्ने अस्पतालको भनाई छ ।
सो अवसरमा बरिष्ठ फिजिसियन समेत रहनु भएका डा. अधिकारीले अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्स’ बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पुष्पाञ्जली अस्पतालको मुख्य उद्देश्य चितवनमै काठमाडौँ सरहको सुपर स्पेसलिटी सेवा उपलब्ध गराई उपचारलाई जनमुखी र सुलभ बनाउनु हो ।”
भरतपुरको बालमन्दिर रोडमा रहेको अस्पतालले आफ्ना सेवा सेवा विस्तार गर्दै लगेको छ । विगत १७ वर्षदेखि निरन्तर सेवा दिँदै आएको यो अस्पताल अहिले एक सय बेडको प्रस्तावित अस्पतालका रूपमा सञ्चालित छ ।











