राप्ती, नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा आयोजना हुने भएको छ। महासंघको आयोजनामा तथा राप्ती नगरपालिकाको समन्वयमा सञ्चालन हुने उक्त महाधिवेशन यही चैत्र २० र २१ गते नगरपालिकाको सभा हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
महासंघका अनुसार देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा स्वतन्त्र रूपमा सक्रिय फोटो पत्रकार र क्यामेरापर्सनहरूको व्यापक सहभागिता रहनेछ। महाधिवेशनमा देशभरका शाखाबाट करिब २५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने केन्द्रीय सदस्य प्रविण बरालले जानकारी दिनुभयो।
सो महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ। हाल महासंघले देशका करिब ७० जिल्लामा शाखा विस्तार गरिसकेको छ भने करिब १५०० फोटो पत्रकार आबद्ध रहेका छन्।
महाधिवेशनका क्रममा सहभागी सञ्चारकर्मीहरूले पूर्वी चितवन क्षेत्रका विविध पक्षबारे जानकारी लिने र आ–आफ्ना सञ्चारमाध्यममार्फत समाचार, फोटो तथा सामग्री प्रकाशन–प्रसारण गर्ने अपेक्षा गरिएको छ, जसले यस क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्याउने विश्वास केन्द्रिय सचिव कोमल चन्द्र भगतले व्यक्त गर्नुभयो।
कार्यक्रमको तयारी हालसम्म करिब ७५ प्रतिशत पूरा भइसकेको आयोजकले जनाएको छ। पूर्वी चितवनमै दोश्रो पटक हुन लागेको यस महाधिवेशनलाई ऐतिहासिक बनाउने उद्देश्यका साथ व्यापक तयारी भइरहेको छ।
महासंघका केन्द्रीय अध्यक्ष हरि प्रसाद रेग्मीले महाधिवेशनलाई कार्यक्रम स्थलको प्रचारप्रसार, स्थानीय कला–संस्कृति र ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धनसँग जोडेर अघि बढाइने बताउनुभयो। साथै, पूर्वी चितवन क्षेत्रमा निर्माणको क्रममा रहेको विश्वस्तरीय फोटो सङ्ग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्रका कारण पनि यो महाधिवेशन ऐतिहासिक र अविस्मरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो।
राप्तीमा फोटो पत्रकारहरूको केन्द्रिय महाधिवेशन : नयाँ नेतृत्व चयन हुँदै
राप्तीमा फोटो पत्रकारहरूको केन्द्रिय महाधिवेशन : नयाँ नेतृत्व चयन हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु







