चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा रोबोटिक्स तथा आधुनिक प्रविधिप्रति विद्यार्थी र अभिभावकको चासो अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ओपन हाउस २०८२’ मंगलबार सकिएको छ । आइतबारदेखि सुरु भएको ‘ओपन हाउस’को पहिलो दिन विद्यालयको कक्षा ११ का विद्यार्थीहरू सहभागी थिए भने सोमबार र मंगलबार छिमेकी विद्यालयका विद्यार्थी र तिनका अभिभावक तथा विद्यालयमा ‘भिजिट’ आएका सर्वसाधारणले अवलोकन गरेका थिए ।
बालबालिकामा वैज्ञानिक सोच, सिर्जनात्मकता तथा समस्या समाधान गर्ने क्षमताको विकास गराउने उद्देश्यले आयोजना गरिएको यस ‘ओपन हाउस’ले पछिल्लो समय विश्वव्यापीरूपमा तीव्र गतिले विकास भइरहेको रोबोटिक्स प्रविधिबारे अभिभावक र विद्यार्थीलाई प्रत्यक्ष जानकारी गराउने र त्यसप्रति आकर्षण बढाउने मुख्य उद्देश्य रहेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
‘ओपन हाउस’ कार्यक्रममा सहभागीहरूले रोबोटहरूको निर्माण प्रक्रिया र तिनीहरूको कामबारे प्रत्यक्ष अवलोकन गर्न ‘लाइभ रोबोट प्रदर्शन’मार्फत नवीनतम प्रविधिको प्रयोग र त्यसको कार्यप्रणाली बुझ्न तथा प्रत्यक्ष सहभागी भई अभ्यास गर्नका लागि ‘ह्याण्ड्स–अन ट्राइ जोन’मा विद्यार्थीहरू स्वयं सहभागी भई रोबोट सञ्चालन गरी प्रयोगात्मक सिकाइको अनुभव हासिल गर्ने अवसर पाएको प्राचार्य पौडेलले बताए ।
दक्ष प्रशिक्षक तथा विशेषज्ञहरूबाट मार्गदर्शन गरिएको यस कार्यक्रममा सहभागीहरूले रोबोटिक्स सिकाइको संरचित मार्गबारे जानकारी लिनुका साथै आगामी दिनमा आवश्यक पर्ने सीपहरू विकास गर्ने सम्भावना र यसको क्षेत्रबारे बुझ्ने मौका पाएको बताइएको छ । बालबालिकामा प्रविधिमैत्री सोच विकास गर्न मद्दत पु¥याउन कार्यक्रम फलदायी हुने १०+२ को कम्प्युटर ‘हेड अफ डिपार्टमेन्ट’ ई. तेज अर्यालले जानकारी दिए । ‘अभिभावकहरूका लागि पनि कार्यक्रम उपयोगी भएको छ, आफ्ना बालबालिकालाई आगामी दिनमा कुन प्रकारको सीपतर्फ उन्मुख गराउने भन्ने विषयमा स्पष्ट धारणा बनाउन कार्यक्रमले सहयोग पु¥याएको छ,’ उनले भने, आइएनजी ग्रुप रोबो नेपालसँगको सहकार्यमा शैक्षिक सत्र २०८३ मा चितवनमै पहिलोपटक कक्षा १ देखि १० सम्म नै रोबोटिक्स सम्बन्धी कक्षाहरू र क्रियाकलाप सञ्चालन गरिनेछ ।’







