भरतपुर । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भजन प्रतियोगिता पनि हुने भएको छ । यही जेठ १६ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने तयारी गरिएको महायज्ञका संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए ।
नौ वर्षमुनिका १००८ बालिकाको सामूहिक पूजन भने असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने निर्णय भएको उनले बताए । आयोजकका अनुसार महायज्ञमा फेरी लगाउने र प्रवचनकला प्रतियोगिता पनि गरिँदै छ । महायज्ञ सुरू भएको एक महिना पुग्नै लाग्दा महायज्ञ दर्शन गर्ने भक्तजनको सहभागिता बढ्दै गएको छ ।
महायज्ञलाई सफल बनाउन मङ्गलबार पोखरा लेकसाइडका प्रेमबहादुर पुनले ५६ हजार, बेलबहादुर पुनले २७ हजार र अमेरिका बस्दै आएका मनकृष्ण अधिकारीले ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।
राष्ट्रगुरू योगी नरहरिनाथको सङ्कल्पअनुसार भइरहेको महायज्ञले विश्वशान्ति र नाथ परम्पराको संरक्षण हुने योगी व्याघ्र बेदनाथले बताए । ‘विश्वमा शान्ति होस्, राष्ट्रमा शान्ति होस् । हरेकको मनमा सत्विचार आओस् भन्नका लागि नै महायज्ञ भएको हो’, उनले भने । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।
महायज्ञमा बीजमन्त्रद्धारा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रूद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठपारायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा पुरूषोत्तम माहात्म्य प्रवचन, हिमवत्खण्ड, शिखरिणी यात्रालगायतका धार्मिक ग्रन्थहरुको पाठपारायण, गौकथा प्रवचन पनि हुनेछ । वैशाख १७ देखि सुरू भएको श्री शिवगोरक्ष योगीनरहरिनाथ साङ्ग कोटिहोम महायज्ञ असार १३ गतेसम्म सञ्चालन हुनेछ ।







