भरतपुर,भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेज -बीआईसी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सिम्याट परीक्षामा सहभागी विद्यार्थीलाई रु १७ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
कलेजका सहनिर्देशक तथा प्राध्यापक पुष्प अधिकारीका अनुसार …बीआईसी लक्की ड्र सिम्याटÚ कार्यक्रमअन्तर्गत सिम्याट परीक्षामा सहभागी ६३२ विद्यार्थीलाई समावेश गरी लक्की ड्र गरिएको हो ।
कलेजले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नै विकास गरेको एप तथा सफ्टवेयरमार्फत लक्की ड्र गरेको जनाएको छ । लक्की ड्रमार्फत दुई विद्यार्थीलाई प्रथम पुरस्कारस्वरूप जनही रु तीन लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा बीबीए फाइनान्सतर्फ रोल नं २७८४ र बीबीएतर्फ रोल नं ७९०५ का विद्यार्थी रहेका छन् ।
यस्तै, द्वितीय पुरस्कारअन्तर्गत १० विद्यार्थीलाई जनही रु एक लाखका दरले छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । उक्त छात्रवृत्ति बीबीए, बीबीए फाइनान्स, बीसीए, बीसीएसआईटी र बीएचएमलगायतका विषय अध्ययनका लागि लागू हुने जनाइएको छ ।
सहनिर्देशक अधिकारीले सिम्याट परीक्षामा सहभागी विद्यार्थीले कलेजमा भर्नाका लागि छुट्टै प्रवेश परीक्षा दिनु नपर्ने बताउनुभयो । उहाँका अनुसार सिम्याटको प्राप्ताङ्क -अङ्कतालिका) प्रस्तुत गरे पुग्नेछ । लक्की ड्रबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई आगामी हप्ताभित्र कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
कलेजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन तथा नवलपुरका भरतपुर महानगरपालिका, गैँडाकोट, रत्ननगर र राप्ती नगरपालिकाका जेहेन्दार विद्यार्थीका लागि …बीआईसी वार्ड स्कलरशिप प्रोग्रामÚ समेत सञ्चालन गरिरहेको जनाएको छ ।










