कालिका, भदौ १ — कालिका ओपन स्काउट क्र्यु (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कालिका नगरपालिका वडा नम्बर-७स्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा स्काउटिङ गतिविधि, सामाजिक सेवा तथा नेतृत्व विकासमा योगदान पुर्याउने १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको छ। कार्यक्रममा क्र्युमा आबद्ध नयाँ १४ जना रोभर–रेन्जरलाई स्वागतसमेत गरिएको थियो।
कालिका ओपन स्काउट क्र्युका अध्यक्ष स्काउटर सेवक अधिकारी ‘निर्मिश’को अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगर स्काउटका निवर्तमान प्रमुख आयुक्त स्काउटर रचना लामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा कालिका ओपन स्काउट क्र्युका सल्लाहकार समिति प्रमुख तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी, युवाहरूको ढुकढुकी तथा समाजसेवी रमेशजंग थापा र कालिका डाइनामिक स्काउट क्र्युका संस्थापक अध्यक्ष रोभर लिडर बाबुराम अर्याल विशिष्ट अतिथिका रूपमा रहेक थिए।
कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक बस्ताकोटीले स्काउटिङलाई पोशाक, परेड र औपचारिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने कालिका ओपन स्काउट क्र्युको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता गतिविधिले स्थानीय युवालाई स्वयंसेवा, नेतृत्व, अनुशासन र विपद् व्यवस्थापनजस्ता व्यवहारिक सीपतर्फ आकर्षित गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।
स्काउटिङको मूल उद्देश्य बालबालिका तथा युवामा अनुशासन, नेतृत्व, स्वयंसेवा, विपद् व्यवस्थापन, सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाको भावना विकास गर्नु रहेको बताउँदै उहाँले स्थानीय तहले स्काउटलाई सामाजिक अभियानमा प्रभावकारी साझेदारका रूपमा परिचालन गर्न सक्ने धारणा राख्नुभएको थियो।
समाजसेवी रमेशजंग थापाले स्काउटहरूले सुसंस्कृत र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा स्काउटको समग्र विकासका लागि नगरपालिकाले अझ सशक्त रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो। “युवाहरू देशका महत्वपूर्ण आधार भएकाले उनीहरूको क्षमता अभिवृद्धि र समग्र विकासमा आफूले आवश्यक जुनसुकै सहयोग गर्नेछु,” उहाँले भन्नुभयो।
कार्यक्रममा क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पाण्डे, प्रधानाध्यापक सूर्यप्रसाद तिवारी, सहपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमनाथ अधिकारी, श्री आधारभूत विद्यालय नमुनाटोलका प्रधानाध्यापक बसन्तराज पौडेल र सल्लाहकार सदस्य राजु पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यस्तै, कालिका युथका अध्यक्ष तथा कालिका ओपन स्काउट क्र्युका कोषाध्यक्ष सन्दीप केसी, कालिका युथकी उपाध्यक्ष अंकिता अधिकारी र वडा फोकल इन्चार्ज अञ्जली अधिकारीले स्काउटिङ अभियानमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा रोभर तथा रेन्जरहरूले मौलिक नृत्य तथा गायनसमेत प्रस्तुत गरेका थिए।
पृथ्वी स्काउट ट्रुप, नमुना स्काउट ट्रुप, सहपुर स्काउट ट्रुप र रेडक्रसग्राम स्काउट ट्रुपका स्काउटसहित करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा क्र्युका उत्कृष्ट १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
जस अन्तर्गत,रोभर विमल सुबेदी KOSC Rising Star Award, रेन्जर ए.एसटिएम सपना पण्डित KOSC Rising Star Award,निवर्तमान रेन्जर एसटिएम अमिशा दोङ KOSC Pride of Discipline Award,रेन्जर एसटिएम सुश्री आशिका KOSC Scouting Spirit Award र क्र्यु सहजकर्ता प्रमुख आयुष पाठक KOSC Scout Icon Award प्रदान गरिएको थियो। त्यस्तै,रेन्जर एसटिएम सन्ध्या तामाङ KOSC Inspirational Member Award,रोभर रमित परियार KOSC Teamwork and Coordination Award,क्र्यु इन्चार्ज सफल खनाल KOSC Pride and Contribution Award र रेन्जर रोशनी रिजाल गुरुङ KOSC Outstanding Contribution Award बाट सम्मानित भएका थिए भने रोभर सागर परियार KOSC Leadership Excellence Award,रोभर एसटिएम अयान तामाङ KOSC Spirit of Service Award,रोभर ए.एसटिएम राजेश पौडेल KOSC Spirit of Service Award र निवर्तमान इन्चार्ज स्काउटर विशाल दराई KOSC Action Hero: Adventure & Skills Award बाट सम्मानित भएका थिए।
कार्यक्रममा क्र्युका अध्यक्ष तथा स्काउटर सेवक अधिकारीले क्र्युको दुई वर्षको समग्र आय–व्यय तथा आर्थिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले आगामी भदौमा नगरस्तरीय क्याम्प तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्काउटर रचना लामाले फूलको गमलामा पानी हालेर गर्नुभएको थियो। सो अवसरमा केक काटेर क्र्युको दोस्रो वार्षिकोत्सवसमेत मनाइएको थियो।
कार्यक्रम व्यवस्थापनमा समाजसेवी रमेशजंग थापाले सहयोग गर्नुभएको थियो भने केकको व्यवस्थापन क्लव चोकस्थित गोरखा बेकरीले गरेको थियो। कार्यक्रमको सञ्चालन रोभर लिडर सन्तोष लामिछानेले गर्नुभएको थियो।
स्थापना भएको दुई वर्षको अवधिमा कालिका ओपन स्काउट क्र्युले स्काउटिङलाई सामाजिक सेवा, विपद् जोखिम न्यूनीकरण, सरसफाइ, जनचेतना तथा नेतृत्व विकाससँग जोड्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।









