चितवन । रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुरमा एक दिने मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। होटल भरतपुर गार्डेनमा आयोजित यस कार्यक्रमको उद्देश्य समाजमा मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नु र यससँग जोडिएका भ्रमहरू चिर्नु रहेको थियो।
रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा रोटरियनहरू, जीवनसंगीनीहरू तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ चितवनका पास्ट प्रेसिडेन्ट काउन्सिल चेयर भानु शर्माले नेपाल र विश्वव्यापी रूपमा बढ्दो मानसिक रोग तथा आत्महत्या प्रस्तुत गर्दै समुदायमा सामाजिक कार्यकर्ता र अभियन्ताहरूको भूमिकाबारे प्रष्ट पार्नुभयो। साथै, उहाँले नेपालमा मानसिक स्वास्थ्य परामर्शदाताहरूको अपरिहार्यता र यसको अभावबारे विशेष जोड दिनुभयो।
कार्यक्रमका मुख्य वक्ता तथा मनोचिकित्सक डा. सिर्जना भुर्तेलले मानसिक स्वास्थ्यका विभिन्न पक्षमा विस्तृत प्रस्तुति दिनुभयो।
सामाजिक सञ्जाल र भ्रमहरूको प्रभावका बारे बताउंँदै डा. भुर्तेलले सामाजिक सञ्जालमा आत्महत्याका घटनाहरूलाई असंवेदनशील ढंगले प्रचारप्रसार गर्दा पर्ने नकारात्मक असरबारे चर्चा गर्नुभयो। साथै, नेपाली समाजमा मानसिक स्वास्थ्य र मनोवैज्ञानिक समस्यालाई हेर्ने दृष्टिकोण अझै पनि संकुचित रहेको र मानिसहरू खुलेर कुरा गर्न संकोच मान्ने प्रवृत्ति अझै कायम रहेको औंल्याउनुभयो।
सरकारी प्राथमिकताको आवश्यकतास्८ कार्यक्रममा मानसिक स्वास्थ्यको क्षेत्रलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने र यसको व्यापक सचेतनाका लागि सरकारी तथा गैरसरकारी स्तरबाट ठोस पहल हुनुपर्ने कुरामा जोड दिइयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले राखेका जिज्ञासामाथि वक्ता डा भुर्तेलले प्रष्ट पार्नुभएको थियो।
रोटरी इन्टरनेशनलले मानसिक स्वास्थ्यलाई आफ्नो एक प्रमुख प्राथमिक क्षेत्रको रूपमा राखेको छ। यसैको मर्म अनुसार आयोजित यस कार्यक्रमले सहभागीहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएको र आगामी दिनहरूमा यस्ता सचेतना अभियानहरूलाई अझै प्रभावकारी रूपमा अगाडि बढाइने आयोजकले जनाएको छ।










