चितवन –
आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिका–९ स्थित भरतपुर बसपार्क नजिकै डी टु एच ; डाइरेक्ट टु होम हेल्थकेयर सञ्चालनमा आएको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर विकास पाण्डे र पदम थापाले उक्त संस्था औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्।
विशेषगरी विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफ्ना बाबुआमाको स्वास्थ्य सेवा तथा हेरचाह गर्न सहज होस् भन्ने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको कार्यकारी प्रमुख विकास पाण्डेले जानकारी दिनुभयो।
“हामीले विशेषगरी विदेशमा रहेर नेपालमा आफ्ना बाबुआमाको हेरचाह गर्न नपाएका, नियमित अस्पताल जान नसक्ने तथा दीर्घरोगी, वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले यो संस्था सञ्चालनमा ल्याएका हौँ,” कार्यकारी प्रमुख पाण्डेले भन्नुभयो, “यसले उहाँहरूको समय बचत हुनुका साथै सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ।”
डी टु एचका प्रमुख सेवाहरूमा घरमै डाक्टर तथा नर्सिङ सेवा, अनुभवी तथा मान्यता प्राप्त केयरगिभर सेवा, वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकको हेरचाह, बिरामीको घरमै हेरचाह, स्ट्रोक तथा क्यान्सरका बिरामीको हेरचाह, शल्यक्रियापछि घरमै हेरचाह, ओछ्यानमै रहेका बिरामीको हेरचाह, प्यालिएटिभ तथा दीर्घकालीन हेरचाह, घरमै फिजियोथेरापी सेवा, औषधि सेवन तथा स्वास्थ्य निगरानीमा सहयोग र नियमित होम भिजिट स्वास्थ्य सेवा रहेका छन्।
सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन टेलिफोन सेवा, वेबसाइट, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सूचना प्रविधि विज्ञसमेत रहनुभएका अर्का सञ्चालक पदम थापाले जानकारी दिनुभयो।
“हामीले त्यस्ता सेवाग्राहीलाई समेत लक्षित गरी मेम्बरशिपको व्यवस्था गरेका छौँ। डी टु एचको फेसबुक तथा टिकटकमार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ,” थापाले भन्नुभयो, “यसले सेवाग्राहीलाई सहज र छिटो सेवा प्राप्त गर्न सहयोग पुग्नेछ।”
संस्था सञ्चालनको अवसरमा विभिन्न छुट तथा सुविधा प्रदान गरिएको जनाइएको छ। आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँदै विस्तार गर्दै लैजाने सञ्चालक थापाले बताउनुभयो।










