भरतपुर –
स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ नियमित बैठक भरतपुर गार्डेन होटलमा क्लबकी अध्यक्ष जानकी शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा क्लबले यसअघि सञ्चालन गरेका सामाजिक तथा सेवामूलक कार्यक्रमको समीक्षा गर्दै आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। क्लबका गतिविधिलाई थप प्रभावकारी बनाउँदै सामाजिक सेवाका कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
बैठकका अवसरमा क्लबकी चार्टर प्रेसिडेन्ट योगिता पिया र पास्ट प्रेसिडेन्ट कविता चुकेंलाई क्लबको स्थापना तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै मायाको चिनो र प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
यसैबीच, क्लबका सदस्यहरूले रोटरी क्लब अफ चितवनमार्फत भोटेकोशी बाढीपीडितका लागि करिब ६० हजार रुपैयाँ सहयोग गरेका छन्। क्लबले सहयोग गर्ने सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
बैठकले आगामी भदौ २२ गते देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ। कार्यक्रममा वृद्धाश्रममा रहेका करिब ३५ जना महिला तथा पुरुषसहित बाह्य सहभागी गरी करिब १५० जनाको सहभागिता रहने अपेक्षा गरिएको क्लबले जनाएको छ।
बैठकको अन्त्यमा अध्यक्ष शर्माले १००औँ बैठक सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।










