भरतपुर, चितवन –
बालबालिकाको शारीरिक, मानसिक, भाषिक, सामाजिक तथा शैक्षिक विकाससँग सम्बन्धित सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले भरतपुर–११, चितवनमा ‘Wonder Mind Child Development & Therapy Center’ सञ्चालनमा आएको छ।
“Helping Little Minds Grow, Learn & Thrive” भन्ने अवधारणासहित सञ्चालनमा आएको केन्द्रले बालबालिकाको आवश्यकता र विकासात्मक अवस्थाअनुसार विभिन्न सेवा उपलब्ध गराउने जनाएको छ। केन्द्रमा बोली तथा भाषा विकास, दैनिक जीवनका सीप विकास, व्यवहार सुधार तथा व्यवस्थापन, विशेष शिक्षा तथा सिकाइमा सहयोग र अभिभावकीय परामर्शलगायतका सेवा प्रदान गरिनेछ।
केन्द्रकी सञ्चालक सपना कुँवर थापाका अनुसार बालबालिकाको क्षमता र आवश्यकताअनुसार सहयोग उपलब्ध गराउनुका साथै अभिभावकलाई समेत आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।

“बालबालिकाको प्रारम्भिक विकासलाई उचित ढंगले अघि बढाउन परिवार र विशेषज्ञबीचको सहकार्य आवश्यक हुन्छ। बालबालिकाको आवश्यकता पहिचान गरी सोहीअनुसार सहयोग उपलब्ध गराउने वातावरण बनाउन केन्द्र स्थापना गरिएको हो,” उहाँले बताउनुभयो।
केन्द्रमा बालबालिकामा देखिने बोली तथा भाषा विकाससम्बन्धी कठिनाइ, उच्चारणसम्बन्धी समस्या तथा सञ्चार क्षमताको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। त्यस्तै, हातखुट्टाको समन्वय, सूक्ष्म शारीरिक सीप, दैनिक जीवनमा आवश्यक पर्ने काम आफैं गर्न सक्ने क्षमता तथा सिकाइका लागि आवश्यक आधारभूत सीप विकासमा समेत सहजीकरण गरिने केन्द्रले जनाएको छ।
केन्द्रकी अर्की सञ्चालक सुदीक्षा लम्सालका अनुसार बालबालिकाको सिकाइ र व्यवहारलाई सहज बनाउन सकारात्मक व्यवहार विकास, संरचित सिकाइ तथा उमेर र क्षमताअनुसार विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ।
बालबालिकालाई रमाइलो वातावरणमा सिकाइको अवसर प्रदान गर्न रङ, आकार, संख्या, चित्र, खेल, जिग्स पजललगायतका सामग्री तथा गतिविधिको प्रयोग गरिने उहाँले बताउनुभयो।

“हरेक बालबालिकाको सिक्ने तरिका र आवश्यकता फरक हुन्छ। त्यसैले उनीहरूको रुचि, क्षमता र अवस्थालाई ध्यानमा राखेर सहज तथा दबाबरहित वातावरणमा सिकाइ गतिविधि सञ्चालन गर्ने हाम्रो प्रयास हो,” लम्सालले बताउनुभयो।
केन्द्रले बालबालिकासँगै अभिभावकलाई पनि आफ्नो सेवाको महत्वपूर्ण हिस्सा मानेको जनाएको छ। बालबालिकाको अवस्था बुझ्ने, घरमा उनीहरूसँग कसरी व्यवहार गर्ने तथा घरमै सिकाइ र विकासमा सहयोग पुर्याउन सकिने उपायबारे अभिभावकलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गरिनेछ।
केन्द्रका अनुसार यहाँ भारतबाट अनुभवी उपचार विशेषज्ञ तथा बालबालिकाको सिकाइमा सहजीकरण गर्ने प्रशिक्षकसमेत आबद्ध छन्। यसबाट बालबालिकाको आवश्यकता र अवस्थाअनुसार थप विशेषज्ञ सेवा तथा सिकाइमा सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।
बालबालिकाको विकासका क्रममा बोली तथा भाषा, व्यवहार, सिकाइ, शारीरिक समन्वय र सामाजिक सीपमा देखिने आवश्यकतालाई समयमै पहिचान गरी उचित सहयोग उपलब्ध गराउन सके उनीहरूको दैनिक जीवन तथा आगामी सिकाइमा समेत सकारात्मक सहयोग पुग्ने केन्द्रको भनाइ छ।
Wonder Mind Child Development & Therapy Center ले बालबालिका र अभिभावकलाई आवश्यक सेवा तथा मार्गदर्शन एउटै स्थानबाट उपलब्ध गराउँदै चितवनमा बाल विकास तथा सिकाइसँग सम्बन्धित सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।











