चितवन –
सेवा र विकासका लागि युवा संस्थाले आर्थिक अवस्था कमजोर भएका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। देशका विभिन्न जिल्लाबाट छनोट गरिएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागेको हो।
अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत आर्थिक कठिनाइका कारण शिक्षामा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग गर्न लागिएको संस्थाले जनाएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कंडेलका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी छनोट गरिएको हो।
छात्रवृत्ति कार्यक्रमको पाँचौँ चरणअन्तर्गत छनोट भएका ३२ जना विद्यार्थीलाई प्रतिव्यक्ति १०० अमेरिकी डलर छात्रवृत्ति रकमसहित प्रमाणपत्र प्रदान गरिनेछ। छात्रवृत्तिले विद्यार्थीको तत्कालीन शैक्षिक आवश्यकता पूरा गर्न तथा अध्ययनप्रति उनीहरूको उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सेवा र विकासका लागि युवा संस्थाले शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाको भनाइ छ।
साथै, संस्थाका अनुसार यस वर्ष मात्रै तीन हजारभन्दा बढी विद्यार्थीलाई स्टेसनरी सामग्रीसमेत वितरण गरिएको थियो। विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै संस्थाले शिक्षा क्षेत्रमा सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय कोषाध्यक्ष राजु सापकोटा र केन्द्रीय सचिव इन्जिनियर कुशल सापकोटाको पनि उपस्थिति थियो। कार्यक्रममा छात्रवृत्ति कार्यक्रमको उद्देश्य, विद्यार्थी छनोट प्रक्रिया तथा प्रदान गरिने सहयोगका विषयमा जानकारी गराइएको थियो।











