चितवन –
नेपाली कांग्रेसमा २०७२ सालदेखि निरन्तर सक्रिय रहँदै आएका प्रवल के.सी. नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं. ३ बाट युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।
पार्टीप्रतिको निष्ठा, धैर्यता र निरन्तर सक्रियतालाई आफ्नो राजनीतिक यात्राको आधार मान्ने के.सी.ले विगत १० वर्षदेखि कांग्रेसको संगठन विस्तार, पार्टीलाई मजबुत बनाउने तथा पार्टी शुद्धीकरणका लागि आफूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। नेविसंघ एनपीआई कलेजको उपसभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थीका विभिन्न गतिविधि तथा सामाजिक काममा सक्रिय भएका के.सी. त्यसपछि नेपाल विद्यार्थी संघको जिल्ला सदस्यका रूपमा समेत जिम्मेवारीमा रहे।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा वडा सदस्यको जिम्मेवारी निर्वाह गरेका उनी अहिले १५औँ महाधिवेशनमा भरतपुर–३ का युवा क्षेत्रीय प्रतिनिधि बनेका हुन्।
करिब एक दशक लामो राजनीतिक यात्रामा विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्दै आएको र निरन्तरको प्रयासपछि अहिले युवा क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुग्न सफल भएको के.सी.ले बताएका छन्।
“२०७२ सालदेखि निरन्तर पार्टीमा रहेर निष्ठापूर्वक काम गर्दै आएको छु। धैर्यता र निरन्तर प्रयासकै परिणामस्वरूप आज यो जिम्मेवारीमा आइपुगेको छु,” के.सी.ले भने।
आगामी दिनमा पनि युवाको सक्रिय सहभागिता बढाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउन तथा सामाजिक क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ।











