भरतपुर ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहेका बेला चितवनमा कांग्रेस इतर पक्षले आफ्नो नियमित अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ। बिहीबार भरतपुर महानगर अधिवेशन सम्पन्न गर्दै इतर पक्षले नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा भरतपुर महानगर समिति गठन गरिएको छ। राई यसअघि महानगर अधिवेशन सम्पन्न गराउन संयोजक तोकिएका थिए।
महानगरको उपसभापतिमा रेशल श्रेष्ठ तथा सचिवमा सफल अधिकारी र राजन बख्रेल चयन भएका छन्। बाँकी पदाधिकारी तथा सदस्यहरू पछि चयन गरी समिति पूर्णता दिइने उपसभापति श्रेष्ठले जानकारी दिए।
अधिवेशनको जिल्ला संयोजक मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए। कार्यक्रममा उनले पार्टीको आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेको भन्दै आफूहरूकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे।
श्रेष्ठका अनुसार चितवनमा हालसम्म ८५ प्रतिशतभन्दा बढी वडा अधिवेशन सम्पन्न भइसकेका छन्। अब केही दिनभित्रै क्षेत्रीय अधिवेशनसमेत गर्ने तयारी छ।
अधिवेशनमा बागमती प्रदेशकी पूर्वमन्त्री एवं सांसद बिनु रायमाझी पौडेल, प्रदेश सांसद माया श्रेष्ठ, संविधानसभा सदस्य विष्णुमाया परियारलगायतले सम्बोधन गरेका थिए।












