चितवन । चितवनका चार पालिकाका गरी ३६ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलमा प्रवेश गरेका छन ।
निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले ३६ जनाले समाजवादीमा सनाखत गरेको र पाँच जनाले सनाखत फिर्ताको लागि निवेदन दिएको जानकारी दिए । सनाखत फिर्ता गर्नेमा रत्ननगरका चार वडा सदस्य र भरतपुरका एक जना महिला वडा सदस्य रहेका छन् । सनाखत गर्ने आज अन्तिम दिन थियो ।
ती मध्ये चितवनका ११ जना वडाध्यक्षले समाजवादी रोजेका छन् । जसमा भरतपुर महानगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती र माडीमा एक एक जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । बाँकी सनाखत गराउनेहरुमा वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । जसमा भरतपुरमा १० जना वडा सदस्य, रत्ननगरमा १२ जना, माडीमा २ र राप्तीमा १ जना वडा सदस्यले समाजवादीमा सनाखत गराएको बताईएको छ ।
चितवनका सात स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट भने कसैले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।