काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ भदौ २४ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओ प्रि – अलोटमेण्ट मंगलवार सम्पन्न गरिसकेकोसमेत क्यापिटलले जानकारी दिएको छ ।कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि करीब ४२ गुणा बढी आवेदन परेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर सर्वसाधारणमा बाँडफाँट हुनेछ । यस आधारमा ७ लाख ४४ हजार जना आवेदकहरुले गोला प्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।
आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो ।
हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।
उक्त कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुुरु गरिसकेको छ ।
कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ ।