काठमाडौं । पत्रकार प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । बुधबार अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा शैक्षिक विकासको अवस्था, ऐतिहासिक शैक्षिक लिखत, दस्तावेजलगायत समेटिएको छ । पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएको र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीको भनाइ छ ।
अधिकारी २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन् । यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो ।
१५ अध्यायमा विभाजित यो पुस्तकमा निरंकुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पुर्याए भन्ने विषयलाई समेटिएको छ ।
‘राणाकालीन शिक्षा’लाई ईडीयू सञ्जालले प्रकाशन गरेको छ । ४४४ पृष्ठ रहेको पुस्तकको पातलो गाताको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ तोकिएको छ ।