संखुवासभा, २७ भदौ – संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो ।
२६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।
गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।
आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मार्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् । शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।