चितवन, २७ भदौ – दुई महिना अघि सार्वजनिक भएको ‘तोरी खायो मौरीले, हान्छु तिमीलाई लौरीले’ बोलको गीतप्रति चितवनका मौरी पालक किसानले खेद प्रकट गरेका छन् । गीतले भ्रम फैलाएको भन्दै किसानले खेद प्रकट गरेको हो ।
नेपाल मौरी पालक महासंघ चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त गीतका लेखक, गायक तथा गायिकालगायतलाई कानुनी कारबाहीको माग गरेको छ । नेत्र नेत्र अर्यालले लेखेको उक्त गीत सेन्चुरी र कमला घिमिरेले गाएका हुन् ।
कलाकारले आफ्नो अधिकार उपायोगको नाममा तोरी र मौरीबीचको वैज्ञानिक तथ्यप्रति नै खेलवाड गर्दै भ्रामकता फैलाउन खोजेको विज्ञप्तिमा भनिएको छ । महासंघका अध्यक्ष शिवप्रसाद शर्माले तोरीमा मौरी चरनले ३० प्रतिशतसम्म उत्पादन बढेको तथ्य जानकारी गराउदै कारबाहीको माग गरेका छन् ।
त्यस्ता गीत प्रसारण नगर्न तथा उक्त गीत तत्काल युट्युबबाट हटाउन पनि उनले माग गरेका छन् ।