काठमाडौं, ०४ असोज – चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।
महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ ।
‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् ।