विराटनगर । लामो समयपछि गृहजिल्ला आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई कार्यकर्ताले भव्य स्वागत गरेका छन् । आज अपरान्ह विराटनगर विमानस्थल ओर्लिएका गच्छदारलाई स्वागत गर्न कार्यकर्ताको ठूलो घुइँचो लागेको थियो । मोटरसाइकल र गाडीमा पार्टी झन्डासहित विमानस्थल आएका कार्यकर्ताले गच्छदारको पक्षमा नारा लगाउँदै स्वागत गरे ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुअघि गच्छदारले डेढ वर्षसम्म मौनतामा थिए । राजनीतिक कार्यक्रममा सहभागी हुन निकै लामो समयपछि सुनसरी आएका गच्छदारले त्यहाँ कार्यकर्ता भेटघाटसँगै पार्टीका कार्यक्रममा सहभागी हुनेछन् ।
विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको तर यसलाई आफूले सामना गरेको सुनाए । गच्छदार ९ गते काठमाडौं फर्कने छन् । ११ गते फेरि सुनसरी आउने छन् । संसदीय व्यवस्था नै संकटमा परेको बताउँदै उनले तत्कालीन राज्यले नै आफूविरुद्ध षड्यन्त्र गरेको बताए । “संसदीय व्यवस्थामाथि कसैले षड्यन्त्र नगरोस् । धेरै कुरा देखियो आन्दोलनका अब यस्तो नहोस्,” उनले भने ।
५१ वर्षदेखि राजनीतिमा लागेको र जेल बसेर राजनीतिक यात्रा शुरु गरेको भन्दै उनले १९ वर्षपछि आफू आफ्नो कर्मक्षेत्रमा फर्किएर आएको सुनाए । विराटनगरको भूमिबाट आफूले राजनीतिक यात्रा सुरु गरेको र यहीँ ठाउँबाट आफू जनताको सेवामा लागेको गच्छदारले सुनाए ।
नेपाली कांग्रेसको निम्ति रगतपसिना बगाएकहरूलाई सक्रिय गराउनुपर्ने उनले बताए । बालुवाटार जग्गा प्रकरणमा आफूलाई जबरजस्ती फसाएको उनको दाबी छ । “मैले राज्यको एकलाल पैसा हिनामिना गरेको छैन्,” उनले भने ।
अदालतबाट न्याय पाउने अपेक्षा रहेको गच्छदारले बताए । जनताले दोषि भने आफू मृत्युदण्डको लागि पनि तयार भएको बताए ।