काठमाडौं, ०७ असोज – विदेशी पर्यटक आगमनका लागि सरकारले अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित गर्न बनेको संक्रमण रोग ऐन, २०२० लाई परिमार्जन गर्दै सरकारले विदेशी पर्यटकहरुका लागि अनअराइभल भिसा खुल्ला गरेको हो ।
योसँगै अब विदेशी पर्यटकहरूका लागि नेपाल खुल्ला भएको छ । तर, विदेशी पर्यटकहरुले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टा भित्रको कोभिड परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । यसका साथै पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाणपत्र समेत पेस गर्नुपर्ने सरकारले जनाएको छ ।अनिवार्य १० दिने अनिवार्य होटल क्वारेन्टिनको व्यवस्था भने सरकारले परिमार्जन गरेको छैन ।