काठमाडौँ । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । फेसबुक कम्पनीका यी तीनवटै सामाजिक सञ्जालहरू वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । सेवा अवरुद्ध भएपछि अर्बौं सेवाग्राहीहरू प्रभावित बनेका थिए ।
फेसबुकले यसबारेमा ट्विट गर्दै सेवाग्राहीसँग माफी मागेको छ । फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्नो सेवाले शतप्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन् ।
नाम बताउन नचाहने फेसबुका थुप्रै कर्मचारीहरूले आन्तरिक गल्तीका कारण सेवा अवरुद्ध भएको बताएका छन् । जीएमटी १६ः०० बजेदेखि सुरु भएको अवरोध २२ः०० मा पुनः सञ्चालन हुन थालेको थियो ।
यस्तो अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार उसले देखेको यो अहिलेसम्मकै ठूलो अवरोध हो । समस्याको बारेमा विश्वभरबाट एक करोड बढी प्रतिक्रिया आएका थिए । यसअघि फेसबुकले २०१९ मा १४ घण्टा लामो अवरोध खेपेको थियो ।
पछिल्लो अवरोधसँगै न्यूयोर्कमा फेसबुकको सेयर मूल्यमा ४.९ प्रतिशत खस्केको रोयटर्सले जनाएको छ । एजेन्सी