चितवन, २२ असोज – नारायणगढको क्याम्पाचौरमा विपद् व्यवस्थापनको अभ्यास गरिको छ । शुक्रबार भूकम्प, आगलागी र सडक दुर्घटनाका कृत्रिम घटनाको अभ्यास गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका, युएनडिपी, फरवार्ड नेपाललगायतका संस्थाले भूकम्प, आगलागी, सडक दुर्घटना तथा मानव बेचबिखनमा आधारित कृत्रिम घटना अभ्यास गरेको हो ।
अभ्यासका लागि कंक्रिट ब्लक, प्लास्टिक, कार्टुनहरूक टहरा बनाइएको थियो । नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको लागी यो कार्यक्रम आयोजना गरिएको हो ।
भूकम्प आएर मानिसहरु आत्तिएको, रूवाबासी चलेको र सुरक्षाकर्मीले उद्धार गरेका दृष्य देखाइएको थियो । भुकम्पका कारण यस्तै ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको दृष्य पनि देखाइएको थियो ।
टहरोमा आगो लागेको महानगरपालिकाको वारुणयन्त्र र सुरक्षाकर्मीहरु आएपछि आगे नियन्त्रणमा ल्याएका थिए । घाइतेलाई उद्धार गरी अस्पताल पुराईएको तथा राहातका प्याकेजहरु पनि तयार पारिएको थियो । यस्ता विपद् कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपाने, यूनडिपी चितवनको कार्यक्रम संयोजक तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको खाँचो रहेकोमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।
विपद् आइपर्दा त्यसको उचित तवरबाट सामना गर्ने र व्यवस्थापनमा खटिने जनशक्तिलाई यस्ता कार्यले सघाउने भरतपुर महानगर प्रमुख रेनु दाहालले बताईन् । नारायणगढको क्याम्पाचौरमा गरिएको कृत्रिम घटना अभ्यासले जिल्लाको सम्पूर्ण संयन्त्र विपत् आइपर्दा तयारीको अवस्था बारेपनि जानकारी समेत दिएको उनले बताईन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको कृत्रिम घटना अभ्यासले जोखिम आउँदा कसरी काम गर्ने भन्ने कुरा सिकाउने बताए ।