दाङ । दाङको तुलसीपुर क्षेत्रमा कार्यरत तीन जना साधा पोशाकका प्रहरीको काज सरुवा भएको छ । उनीहरुलाई दैलेख, जाजरकोट र सुर्खेतमा काज सरुवा गरिएको जिल्लाको उच्च प्रहरी स्रोतले जानकाकारी दिएको छ । काज सरुवा भएका मध्य एक जना हवल्दारले भने आँफू निर्दोश रहेको बताउँदै आएका छन् । उनले दिएको लिखित स्पष्टिकरणमा समेत सोही कुरा उल्लेख गरेको स्रोतले बताएको छ ।
ट्रयाक्टर ब्यबसायीसँग एक लाखभन्दा बढी घुस खाएको गुनासो पछि उनीहरुलाई दसैँ अगाडि जिल्ला प्रहरी कार्यालय घोराही झिकाइएको थियो । “मासिक ३० हजारका दरले एसपी सापको नाम भजाएर पाँच ट्रयाक्टर ब्यबसायीबाट घुस स्वरुप पैसा उठाएको देखिएको छ,” एक प्रहरी अधिकारीले भने, “संगठनको आचरण बिपरितको कार्य गरेको हुँदा जागिरबाटै निलम्बनको सिफारिस हेड क्वाटरमा जिल्लाबाट गरिएको भए पनि एकपटकलाई भनेर काज सरुवा भएको छ ।”
एसपीको नाम भजाएर ब्यबसायीसँग घुस स्वरुप रकम मागेको गुनासो पछि उनीहरु जिल्ला तानिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङले हेटक्वाटरसम्म त्यो कुरा पुर्याएपछि उनीहरु तीनजनाको इटहरीमा सरुवा गरिएको थियो । त्यहाँबाट तीनै जनाको कर्णाली प्रदेशमा काज सरुवा भएको स्रोतले जनाएको छ । दाङमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी सुरेश काफ्ले आएपछि संगठनको आचरण बिपरित बदमासी गर्ने प्रहरीहरु समेत धमाधम कारबाहीमा परेका छन् ।
यसअघि पनि तुलसीपुरमा लामो सयमदेखि साधा पोशकमा खटिएर (घुमुवा)को रुपमा काम गर्दै आएका प्रहरीलाई सर्वसाधारणबाट घुस लिएको गुनासोको आधारमा जिल्ला झिकाएर कारबाही गरिएको थियो । उनीहरुलाई मध्य केहीलाई जिल्लाका दुर्गम नाका क्षेत्रमा काज सरुवा गरिएको छ ।