काठमाडौं । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याई बेचविखन गरेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका, ४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुने प्रलोभनमा विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ लिएकाे प्रहरीले बताएको छ । “उनले भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा नेपाल फर्कन सफल भएको पाइयो,” प्रहरीले भनेको छ, “पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ।”
उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।