भरतपुर, १४ कात्तिक
साहित्यिक कृति ‘मोसो’ उपन्यासका लागि पत्रकार सूर्यप्रकाश कँडेलले चिसाप लीला–नर्मदा साहित्य पुरस्कार पाउने भएका छन् । २०७७ सालमा प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट ठहरिएको कृति ‘मोसो’ का लागि लेखक कँडेललाई यो पुरस्कार अर्पण गर्न लागिएको हो ।
चितवन साहित्य परिषद (चिसाप) का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले पत्रकार एवं लेखक कँडेललाई उनको पहिलो कृति ‘मोसो’ का लागि चिसाप लीला–नर्मदा साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरेको सचिव बालकृष्ण थपलियाले बताए । उनका अनुसार ११३ औँ लक्ष्मी जयन्तीको अवसरमा कात्तिक १८ गते चिसापको सभाहलमा एक समारोहबीच पुरस्कार अर्पण गरिने छ ।
चिसाप लीला–नर्मदा साहित्य पुरस्कारको स्थापना बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक एवं कवि सरस्वती रिजालले बुबा लीलानाथ तिमिल्सिना र आमा नर्मदादेवीको नाममा स्थापना गरेकी हुन् । २ लाख ५१ हजार रुपैयाँको अक्षयकोष खडा गरी त्यसबाट आर्जित ब्याजले हरेक वर्ष लक्ष्मी जयन्तीमा उक्त पुरस्कार अर्पण गरिँदै आइएको चिसाप अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । पुरस्कार राशि १५,०४५ रुपैयाँ रहेको छ ।
यसअघि यो पुरस्कार रमा शर्मा (कृतित्व र व्यक्तित्व २०७२), श्रीओम श्रेष्ठ ‘रोदन’ (भनौँ कि नभनौँ निबन्ध संग्रह २०७३), विश्वप्रेम अधिकारी (टिमुरको झोल कथा संग्रह २०७४), विमल वैद्य (अक्षर सिम्फोनी कविता संग्रह २०७५) र ललित बस्नेत ( मोहपथ कथासंग्रह २०७६) ले प्राप्त गरिसकेका छन् ।
चिसाप लीला–नर्मदा साहित्य पुरस्कार पत्रकार सूर्यप्रकाश कँडेललाई
चिसाप लीला–नर्मदा साहित्य पुरस्कार पत्रकार सूर्यप्रकाश कँडेललाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु