चितवन ।नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडादेखि केन्द्रसम्म देशभर अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । उमेदवारहरु मतदाता रिझाउन व्यस्त, नेताहरु कार्यकर्तासँग बाक्लिदो भेटघाट र मतदाताहरु सही नेता छान्न विमर्शमा छन् ।
देशभर अधिकांश जिल्लामा वडा तहको अधिवेशन पूरा भइसकेको छ । चितवन जिल्लाका ९८ वडाहरुमध्ये ८८ वडाबाट सभापतिदेखि क्षत्रीय प्रतिनिधिसम्म सर्वसम्मत र बांँकी १० वटा वडा निर्वाचन प्रक्रियाबाट सम्पन्न भइसकेको छ । वडामा सभापतिदेखि क्षेत्रीय प्रतिनिधिसम्म सर्वसम्मत चयन भएका छन् । वडा स्तरीय र प्रदेश स्तरीय अधिवेशन पछि नगर अधिवेशनको लागि नेताहरु दौडधुपमा छन् अहिले ।
बिहानदेखि बेलुकासम्म आफ्ना मतदाताको घरघरमा जाने, भेट्ने, सम्पर्क गर्ने क्रम तीब्र हुँदै गएको छ । सामाजिक सञ्जालमा पनि सबैले आ–आफ्ना एजेण्डा सहित जीत हासिल पार्न उम्मेदवारहरु लागि परेका छन् । वडापछि नगरको अधिवेशन हुने क्रममा अहिले क्षेत्रीय सभापतिका आकांक्षी पनि बढ्दै गएका छन् ।
क्षेत्रीय सभापतिका उमेद्वारहरुको भिडमा नेतृत्व गर्दैछन् चितवन क्षेत्र नम्बर ३ का नेता लालबहादुर दवाडी । निष्ठावान उर्जाशील दवाडी तीन दशकभन्दा बढी निरन्तर काँग्रेसको राजनीतिमा सक्रिय रुपमा हुनुका साथै लोकप्रिय नेताको सूचीमा पर्छन् उनी । ‘लोकतन्त्रको रक्षा र पार्टीको संगठन विस्तार गर्न मैले सभापतिमा उम्मेदवारी दिएको हुँ’ दवाडीले भने ।
साविक क्षेत्र नम्बर ५ को सभापति भइसकेका दवाडी हाल क्षेत्र नम्बर ३ का सहसभापति छन् । अधिवेशनको क्रममा रहेका दवाडीले आफ्नो उम्मेदवारी सँगै जित सुनिश्चित रहेको बताए । ‘म जिल्ला कार्यसमितिमा दुईदुई पटक काम गरिसकेको पार्टीको सिपाही हुँ’ उनले भने, ‘म प्रत्येक नागरिकको घर दैलोमा पुगेर उहाँहरुको सुख दुःखमा साथ दिँदै आएको छु ।’ आफू पञ्चायतकाल देखिनै प्रजातन्त्रको लागि लड्दै आएको बताउँदै उनले द्वन्द्वकालमा बाध्य भई भारतमा भूमिगत भएर ज्यान जोगाएको सुनाए ।
आफूले पार्टीलाई सदृढ र एकतावद्ध बनाउँदै दलित, जनजाति, आदिवासी सबैलाई पार्टीमा प्रतिनिधित्व र समावेश गर्दै अघि बढ्ने मुख्य योजना रहेको बताए । स्कुल कमिटीबाट नै काँगेस राजनीतिको यात्रा शुरु गरेका दवाडीले आठौं महाधिवेशनदेखि निरन्तर योगदान पु¥याउँदै आएका छन् । आठौं महाधिवेशनदेखि दवाडीले पटकपटक क्षेत्रीय प्रतिनिधि हुँदै जिल्लाको कार्यसमितिमा रहेर समेत काम गरिसकेका छन् । अब कर्मठ निष्ठावान नेता आवश्यक रहेको बताउँदै एक व्यक्ति एक पद अवधारणा अनुसार पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।
आफूसँग क्षेत्रीय सभापतिमा ४ बर्षको अनुभव रहेको भन्दै १४ औं महाधिवेशनमा पनि हरेक कार्यकर्ताले आफूलाई नै रोजेको प्रष्ट पारे । काँग्रेस पार्टी भएकै कारण पञ्चायतकालमा द्वन्द्वकाल र राजाले ‘कू’ गर्दा पटकपटक राज्य पक्षले आफ्नो परिवारलाई दुःख दिएको उनले स्मरण गरे । ‘कांँग्रेस भएकै कारण मेरो भाइ र छोराले सेनाको जागिर छोड्नु प¥यो’ उनले भने, ‘म द्वन्द्वकालमा लखेटिएर डेढ महिना भारतमा भूमिगत हुनु पर्यो ।’
आफ्ना सबै दाजुभाइ, परिवार सबै काँग्रेस पार्टीमै सक्रिय हुँदै आएको बताउँदै उनले पार्टीमा सक्षम नेताले काम गर्न अवसर पाउनुपर्ने बताए । चितवनका शीर्षस्थ नेता टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा लगायतका नेताहरुसँगै आफूले जिल्लामा राजनीति गर्दै आएको कारण आफूले क्षेत्रीय सभापतिको दाबी गर्ने हैसियत राख्ने उनको भनाइ छ ।
गोर्खाबाट २०१६ सालमा चितवन झरेका दवाडीका हजुरबुबा, बुबा एवं पछिल्लो पुस्ताले पनि काँग्रेसको जिल्लास्तरीय विभिन्न तहको जिम्मेवारी निभाउँदै आएका छन् ।