चितवन । झण्डै चार दशकदेखि नेपाली काँग्रेसमा समर्पित भै विभिन्न महत्वपूर्ण जिम्मेवारी निभाउँदै आएका राजेश्वर खनालले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा चितवनको जिल्ला सभापति पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । तीन दशकदेखि प्राध्यापन र अन्य शैक्षिक गतिविधिमा समेत क्रियाशील खनाल चितवन काँग्रेसको राजनीतिमा परिचित अनुहार र स्थापित नेता हुन् ।
२०४१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका खनाल स्कूल जीवनमा नै नेवि संघका सदस्य (स्कुल अध्यक्ष), ने.वि. संघ तनहुँको जिल्ला सदस्यहुँदै २०४४ सालमा वीरेन्द्र क्याम्पसमा उच्च शिक्षा अध्ययनसँगै क्याम्पस इकाईको उपसभापति, स्वतन्त्र विद्यार्थी युनियनको वीरेन्द्र बहुमुखी क्याम्पसको २०४९ मा निर्वाचित सचिव समेत हुन् । २०५१ मा निर्वाचित स्ववियु सभापति बने खनाल । वीरेन्द्र बहुमुखी क्याम्पसको राजनीतिक इतिहासमा १९ वर्षपछि मात्र ने.वि. संघले खनालको नेतृत्वमा स्ववियुमा सफलता हासिल गरेको थियो ।
२०५२ सालमा स्ववियु परिषद नेपालको केन्द्रीय सचिव एवं २०५३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भई नेपाल विद्यार्थी संघ लाई अब्बल दर्जाको संगठन बनाउन महत्वपूर्ण भूमिका निभाएका मध्ये उनलाई हेर्ने गरिन्छ ।
आफ्नो राजनीतिक यात्रामा अथक रुपमा लागेका उनी जिम्मेवारी लिनेमात्र होइन जिम्मेवारी निभाउन पनि त्यति नै सफल देखिन्छन् । ‘मैले हालसम्म पार्टीको लागि अनवरत काम गरिरहेको छु’ उनी भन्छन्, ‘कहिल्यै थकाई मारेको छैन । आगामी दिन पनि निरन्तर लागिरहनेछु । मैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभएको छु र निभाउने पनि छु ।’
खनाल नेपाली कांग्रेसको नेपालगन्ज महासमितिको बैठकबाट पुनःस्थापित नेपाल तरुण दल चितवन शाखाको २०५४ सालबाट जिल्ला सचिव, केन्द्रीय पार्षदहुँदै २०५९ सालमा तरुण दल चितवन जिल्लाको अध्यक्ष बने । प्रजातान्त्रिक आन्दोलनमा पनि उनी निकै सक्रिय थिए । २०४२ देखि यता उनी पटकपटक गरी ८ पटकसम्म प्रहरी हिरासतमा परे ।
‘निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा २०४२ सालमा तनहुँमा, त्यसपछि चितवन र काठमाडौंमा पटक पटक गरी आठ पटक प्रहरी हिरासतमा परेको छु ’ खनाल सम्झन्छन् ।
लगातार नेपाली कांग्रेसका दुई वटा भातृ संगठनहरुलाई सफलतापूर्वक नेतृत्व गर्दै २०६२ सालमा नेपाली कांग्रेस भरतपुर–१० को सभापति, २०६७ सालमा क्षेत्रीय कार्यसमितिमा रहँदै उनी २०७२ सालमा नेपाली कांग्रेस महासमिति सदस्यमा निर्वाचित भए ।
चार दशकदेखि राजनीतिमा निस्वार्थ भावनाले सक्रियरुपमा लागेका उनको राजनैतिक एवं सामाजिक रुपान्तरण मूल एजेण्डा हो । ‘मैले चितवन कांँग्रेसलाई २०४९ सालको संघीय संरचना र २०५६ पछिको स्थानीय तहका निर्वाचनको अवस्थामा पु¥याउने छु’ उनको प्रतिबद्धता छ । अब आउने तीनै तहको निर्वाचनमा चितवनमा कांँग्रेसलाई एकल बहुमत ल्याउने लक्ष्य लिएको उनले बताए ।
खनाल आफूलाई पार्टीको ईमान्दार र स्वच्छ कार्यकर्ता मान्छन् । आफूमा जिल्लाको कांँग्रेस राजनीतिलाई अघि बढाउने योग्यता र क्षमता भएका कारण पनि काँग्रेसको चौधौँ महाधिवेशनमा आफूले नेपाली कांँग्रेस चितवन जिल्लाको सभापति पदमा सजिलै जित्ने दाबी गर्छन् उनी ।
खनालको सामाजिक यात्रा पनि उत्तिकै सक्रिय र लोभलाग्दो छ । २०५३ सालमा स्मृति साप्ताहिक पत्रिकाको प्रधान सम्पादक हुँदै प्रेस युनियन शाखाको सदस्य भएका खनाल हाल केन्द्रीय पार्सद छन् । उनी यतिमा मात्र सिमित छैनन् । प्रजातान्त्रिक विचार समाज, भ्रष्टाचार विरुद्धको अभियान चितवन, मानवअधिकार तथा शान्ति समाज, नेपाल क्षयरोग निवारण संस्था चितवन, नेपाल परिवार नियोजन संघ, रामेश्वर पुस्तकालय, दोभान पुस्तकालय, बागेश्वरी गौ संरक्षण केन्द्रका आजीवन सदस्य रहेका खनाल मैयादेवी कन्या कलेज र एसपीएम कलेजका क्याम्पस सभा सदस्य साथै मितेरी फाउन्डेसन नेपालको सल्लाहकारको भुमिका निर्वाह गर्दै आएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ मैयादेवी कन्या कलेजका संस्थापक अध्यक्ष एवम् प्रध्यापक संघका सभापति रहेका खनाल उक्त क्याम्पसको संस्थापक सदस्य हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नाकोत्तर र सप्तगण्डकी बहुमुखी क्याम्पसबाट गणित बिषयमा बिएड गरेका खनाल नेपालको शिक्षा प्रणालीलाई पब्लिक प्राईभेट पार्टनरसीप (पिपिपी) बाटमात्रै आधुनिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विश्वासका साथ २५ वर्षदेखि सक्रिय रहंँदै आएका छन् ।
२०४७ सालदेखि शिक्षा क्षेत्रमा लागेका खनाल मैयादेवी कन्या कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस हुँदै हाल नारायणी इङ्लिस पब्लिक स्कुल भरतपुर–११ का अध्यक्ष तथा प्रबन्ध निर्देशक, त्रि.वि सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस भरतपुर भ्याली कलेजका अध्यक्ष एवं सह प्राध्यापक हुन् ।