चितवन ।नेपाली काँग्रेसमा २०३६ सालदेखि सक्रिय राजनीति गर्दै आएका विजयराज शर्मा भुसालले वडादेखि जिल्लासम्म विभिन्न ओहदामा रहेर काम गरिसकेका छन् । २०३६ सालको जनमत संग्रहमा नेपाली काँग्रेसको प्रचारप्रसार विभागमा बहुदलको पक्षमा प्रमुख भई काम गरेका उनले माओवादी द्वन्द्वकालीन अवस्थामा पनि नेपाली काँग्रेसको संगठन बिस्तारका निम्ति अविच्छिन्न रुपमा काम गरेका थिए ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सक्रिय भुसालले २०६२÷६३ को जनआन्दोलनका बेला नेपाली काँग्रेस चितवनको कार्यवाहक सभापति भई आन्दोलनको सफल नेतृत्व गरेका थिए । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा उनी जिल्ला कार्य समिति चितवनको सभापतिका आकांक्षी रहेका छन् ।
२०२२ साल असोज २२ गते लमजुङमा जन्मिएका भुसाल मंगलपुर निवासी हुन् । विश्वप्रकाश माध्यमिक विद्यालय मंगलपुरबाट २०३८ सालमा एसएलसी दिएका भुसालले कमर्श क्याम्पस टाँडीबाट आइकम र बालकुमारी कलेज नारायणगढबाट बीकम उत्तीर्ण गरे । विद्यालयबाटै राजनीतिमा होमिएका भुसालले २०४२ सालमा नेपाली काँग्रेसले सुरु गरेको सत्याग्रहमा सहभागिता जनाए ।
२०४६ सालको पहिलो जनआन्दोलनमा भुसाल बुथ समिति मंगलपुरबाट सहभागी भई आन्दोलनको पहिलो दिनदेखि नै शहीदचोक (तत्कालीन संगमचोक) मा खटिए । नेपाली काँग्रेसको साबिक गाउँ विकास समितिको सहसचिव बनेका भुसाल सशस्त्र द्वन्द्वको बेला साबिक क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति सचिव पनि भए । पछि नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनको सदस्य बने ।
२०६२÷६३ को दोस्रो जनआन्दोलनका बेला कार्यवाहक जिल्ला सभापति बनेका भुसालले आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । दुई पटकसम्म महासमिति सदस्यमा राम्रो मत ल्याएर विजयी भएका उनले यसपटक काँग्रेसको जिल्ला अधिवेशनमा आफूलाई सभापति पदको उम्मेदवारका रुपमा अगाडि सारेका छन् । जिल्ला सभापति पदमा उम्मेदवारी किन त ? भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन्, “नेपाली काँग्रेस सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । अहिले देशमा एकछत्र काँग्रेस हुनुपर्नेमा काँग्रेसले सोचेजस्तो गति लिन सकेन । मेरो उम्मेदवारी चितवनमा काँग्रेसलाई सबल, सक्षम र गतिशील बनाउनका लागि हो ।”
संसारबाट बिस्थापित भएको कम्युनिज्म र पञ्चायतको अवशेष बाँकी रहेको वर्तमान अवस्थामा नेपाली काँग्रेस बलियो भए अरु दल स्वतः निष्क्रिय हुने उनको भनाइ छ । उनी भन्छन्, “चितवनमा सबल र सक्षम काँग्रेस बनाउन सकियो भने देशैभर काँग्रेस बलियो बन्न सक्छ भन्ने लागेर आगामी चार वर्षका लागि जिल्ला काँग्रेस हाँक्न चाहन्छु ।”
देशमा सधैँ राजनीतिक अस्थिरता र व्यक्ति धनी, देश गरीब भएकोमा चिन्तित छन् उनी । भन्छन्, “गाउँगाउँमा सिंहदरबार त भनियो तर हिजो एउटा राजा थिए, जसलाई फालियो, आज धेरै राजाजस्ता भए । राजनीतिमा लागेका व्यक्ति जनसेवक हुन् । हामी राजाजस्तो बन्ने होइन । नेपाली काँग्रेसको सिद्धान्त स्थानीय स्तरमा अक्षरशः प्रयोग गरी चितवनमा काँग्रेसलाई स्थापित गर्न पनि जिल्ला सभापति पदमा मेरो उम्मेदवारी आएको हो ।”
बीपीको समाजवादी सिद्धान्तलाई राजनीतिक अस्थिरताले स्थापित हुन नदिएको ठान्ने भुसाल राजनीतिक स्थिरताको लागि काँग्रेस बलियो हुनुपर्ने तर्क राख्छन् । “राजनीतिक स्थिरताको लागि काँग्रेस बलियो हुनुपर्छ । काँग्रेसलाई चितवनमा बलियो बनाउन जिल्ला सभापति पदमा मेरो उम्मेदवारी आएको हो” उनी भन्छन्, “आगामी चार वर्ष नेपाली काँग्रेस चितवन जिल्ला सभापतिका रुपमा पार्टीको सेवा गर्न चाहन्छु । काँग्रेसभित्र रहेका युवाहरुलाई आकर्षित गर्नका लागि पनि हो मेरो उम्मेदवारी ।”
जिल्ला सभापति पदमा आफ्नो जितका आधार प्रस्तुत गर्दै भुसाल भन्छन्, “जिल्ला अधिवेशनमा काँग्रेसले नै काँग्रेसलाई मत दिने हुँदा हिजो यसले के ग¥यो ? भोलि के गर्छ ? भनेर हेर्छन् । चितवनमा पार्टीको नेतृत्व पहिलो र तेस्रो पुस्ताले गरिसके । यसपटक दोस्रोे पुस्ताको नेतृत्व गर्दै जिल्ला सभापति पदका लागि उम्मेदवार बनेको छु । क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधिहरुले मेरो पक्षमा मतदान गर्नुहुनेछ भन्ने आशा र विश्वास लिएको छु । १ र २ नम्बर क्षेत्रबाट पनि राम्रै मत पाउने आशा गरेको छु ।”