पुष १५, चितवन । घरजग्गा कारोबारमा आकर्षण गन्तव्य मानिएको चितवनमा पछिल्लो केही महिना यता भारी गिरावट आएको छ । पछिल्लो समय बैंकमा तरलताको अभावका कारण घरजग्गा कारोबार सुस्त छ । ठूला ठूला घरजग्गा कारोबार हुन सकेका छैनन भने साना कारोबारमा समेत सहकारीको भरपर्नु पर्ने बाध्यता छ । चितवनका चारैवटै मालपोत कार्यालयमा समेत ५० प्रतिशत भन्दा कम रजिष्ट्रेशन पास हुने गरेको कार्यालयका कर्मचारी बताउंँछन ।
गंगा ग्रुपका अध्यक्ष घरजग्गा व्यवसायी दिनेशलाल चुके दशैं तिहारपछिनै घरजग्गामा ठूलो गिरावट आएको बताउंँछन । ‘दशैंसम्म त कारोबारले गतिलिएको अवस्था थियो , उनले भने, त्यसपछि ओरालो लागेको कारोबारमा सुधार हुनै सकेन ।’ बैंकमा तरलताको अभावका कारण चितवनमा ठूला योजना, होटल, रिसोर्ट, उद्योगधन्दा, व्यवसायिक भवनमा लगानी शुन्य भएको चुकेले बताए । साना साना घडेरी , जग्गाको कारोबार भएपनि ती सबै सहकारीको माध्यमबाट गर्नुपरेको उनको भनाई छ । ‘हामीले जग्गाधनी र ग्राहकहरुको सहजताको लागि सहकारी मार्फत केही प्रतिशत रकम फिक्स डिपोजिट गर्न लगाएर कामलाई भने नियमित गरेका छौं ।’ चुकेले भने ।तरलताका कारण जग्गा व्यवसायी भन्दा पनि ग्राहकलाई मर्का परेको चुकेले बताए ।
प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्की कोरोना कहरपछि घरजग्गा कारोबार केही सुध्रिने संकेत देखिएपनि तरलताका कारण घरजग्गा ठप्प जस्तै भएको बताउंँछन । ‘हामीलाई बैंको व्याज नियमित गर्नपनि पैसानै चाहिन्छ , ग्राहकले किन्दा पनि बैंकको नै सहायता चाहिन्छ ।’ कार्कीले भने । तरलताको अभावको कारण दुबैपक्षलाई मर्का परेको उनको भनाई छ । तरलताकै कारण कतिपय जग्गा बैना बट्टा गरेर पनि राजीनामा पास गर्न नसकिएको उनले बताए । बैंकमा तरलता अभाव हुंँदा व्यक्ति बिशेषबाट रकम ऋण लिएर कारोबार गर्दा महगो व्याज पर्ने गरेको उनले बताए ।
कारोबारमा सुस्तता आएपछि बिहानैदेखि भीडभाड हुने चितवनका मालपोत कार्यालयमा सेवाग्राही न्यून उपस्थिति रहेको छ । हाल मालपोत कार्यालयमा अंशवण्डा , रोक्का,फुकुवा, भर्पाई, दृष्टि बन्धक ,राजनीनामा पासका काममा ५० प्रतिशत भन्दा बढी कमी भएको छ । मालपोत कायर्नालय, भरतपुरका प्रमुख शेरबहादुर भण्डारी दशैंअघि दैनिक रुपमा सांँढे ३सयको हाराहारीमा सबै काम हुदै आएपनि अहिले यो संख्यामा निकै कम भएको बताउंँछन । ‘दशैंपछिबाट कम भएको हाम्रो काममा अहिले झन सुस्त छ । भण्डारीले भने, यसअघि सांँढे ३०० वटा जति काम हुन्थ्यो अहिले डेढसयको हाराहारीमा छ ।’
तरलताका अभावका कारण घरजग्गाको काराबारमा कमी आउनुका साथै , अंशवण्डा , नामसारी, फुकुवा लगायतका काममा पनि असर परेको उनको भनाई छ ।
बैंकमा डिपोजिट एकदमै सुस्त हुंँदा बैंकहरुमा ऋणको माग अत्यधिक भएपनि लगानी गर्न सकेका छैनन । तरलता अभावकै कारण पुराना ऋणीहरुलाई समेत थप लगानी गर्न नसकिएको र नयांँ सेवाग्राहीको लागि त लगानी शुन्य जस्तै भएको छ । कामना सेवा विकास बैंकका क्षत्रीय प्रबन्ध सुरेन्द्र भण्डारी निक्षेप र ऋण मागको सन्तुलन नहुंँदा बैंकले चाहेरपनि लगानी गर्न नसकेको बताउंँछन । ‘ऋणको लगानी त बढेको बढेयै छ के गर्नु , डिपोजिट एकदम सुस्त छ । ऋणको माग अत्यधिक छ । भण्डारीले भने ।
बैंकमा डिपोजिटको साथै ऋणीहरुको व्याज समेत नियमित संकलन हुन कठिनाई भएको उनको भनाई छ । सेवाग्राही लगानी क्षेत्रको प्रकृतिको आधारमा र पुराना सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर लगानी गर्नुपरेको उनको भनाई छ । ‘रकम प्रशस्त नहुंँदा हामीले स–साना व्यवसायीहरुलाई प्राथमिकता दिएका छौं उनले भने, अन्यलाई पार्सियल रुपमा ऋण भुक्तानी गरेर भएपपनि काम चलाएका छौं ।’
बैंकको तरलता अभावले घरजग्गामा व्यापक मन्दी : चितवनमा ५० प्रतिशत भन्दा बढी गिरावट
बैंकको तरलता अभावले घरजग्गामा व्यापक मन्दी : चितवनमा ५० प्रतिशत भन्दा बढी गिरावट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु