चितवन । चितवनमा पछिल्ला बर्षहरुमा आत्महत्याको आंँकडा उकालो चढ्दै गएको छ । चितवनमा चालु आर्थिक बर्ष ०७८,७९ को मंसिर महिनासम्ममा सवारी दुर्घटना बाहेक विभिन्न घटनामा २१८ मृत्यु भएको मध्ये सबैभन्दा बढी मृत्यु आत्महत्याबाट हुने गरेको पाईएको हो । सो अवधिमा ७९ जनाको आत्महत्याबाट मृत्यु भएको थियो । यसमा पनि सबैभन्दा बढी झुण्डिएर ६५ जना, विषसेवनबाट १३ जना र एकजना हामफालेर मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार ज्यान सम्बन्धी कसुरमा ८ जनाको मृत्यु, यस्तै फुटकर ज्यान ७७ जना , भवितव्य मृत्यु शिर्षकमा ५४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय,चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पछिल्लो समय आत्महत्याका घटना बढेको जानकारी दिनुभयो उहांँले पछिल्ला घटनाक्रमले सबै उमेर समुह र प्रकृतिका मानिसहरुले आत्महत्या गरेको बताउनु भयो । ‘अहिले विशेष यही व्यक्ति तथा उमेर समुहले मात्र आत्महत्या गर्छ भन्ने छैन, अधिकारीले भन्नुभयो , क्षणिक आवेशमा आएर जोसुकैले पनि आत्महत्या गर्ने गरेको पाएका छौं ।’ उहांँका अनुसार लागुऔषध, डिप्रेसन, दीर्घरोगी र सामान्य विवादका कारण पनि आत्महत्याका घटना भएका छन ।
विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका समाजशास्त्र संकायका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या भएपनि पछिल्लो घटनाहरुमा केही फरक प्रकृतिका आत्महत्या हुने गरेको बताउनु हुन्छ । ‘आत्महत्याको कारण उमेर, समुह अनुसार फरक हुन्छ ,उहांँले भन्नुभयो , अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।’ आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु , सामाजिक प्रतिष्ठा, विकल्प नपाउनु , ऋणको प्रेसर बढ्दै जानु , समाजमा कसैको सहयोग नपाएको कारण पनि आत्महत्या हुने गरेको उहांँले बताउनु भयो । ‘युवाहरुमा आत्महत्या बिशेषगरी विछोड, कुलत बाट हुने गरेको छ , उहांँले भन्नुभयो, विवाहित पुरुष र महिलाको हकमा परिवारमा बढी जिम्मेवारी र विवादले पनि आत्महत्या निम्तने गर्छ । ’
फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई उद्धृत गर्दै अधिकारीले भन्नुभयो , ‘बिशेषगरी अन्त्यमा मानिसमा डिप्रेसन बढ्दै जांँदा एक्कासी मानिसले आत्महत्या गर्छ र आत्महत्या पछिको नतिजा उसले हेर्दैन पनि मतलब गर्दैन पनि । ’ आत्महत्या गर्दा अन्यलाई असर पनि नपर्ने र कुनैपनि समय र स्थान छनौट गरेर गर्न सक्ने भएकोले झुण्डिएर आत्महत्या बढी रोज्ने गरेको उहांँले बताउनु भयो ।