चितवन । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि ७७ वटा जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा बर्तमान सरकारले ज्ञावली नेतृत्वको आयोग विघटन गरेको थियो । वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामहरुलाई सदर गर्दै लालपूर्जा वितरणको लागि पालिकाहरुसंग सम्झौता गरेको हो । ज्ञवाली नेतृत्वले बनाएको लालपुर्जा वितरण सम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिले सम्म भएका कामहरुलाई आधार मानेर लालपूर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको मेयर वनले जानकारी दिए । अघिल्लो आयोगले संकलन गरेको विवरणलाई जाँचबुझ गर्ने र त्यसलाई पनि आधार मानिने मेयर वनले बताए ।
पाँच बर्षे कार्यकालको अन्तिम अन्तिममा आइपुगेतापनि आफुले अहिले बनेको आयोगले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने आफ्नो सपना पुरा गर्ने वनले विश्वास व्यक्त गरे । यस अघिको आयोगले संकलन गरेको विवरण अनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरघुरीले फारम भरेका थिए । यही पुस २४ गते जिल्लाको भरतपुर महानगर सहित माडी र कालिका नगरपालिकाले आयोगसंँग यसअघिनै सम्झौता गरिसकेका छन् ।