चितवन । दोस्रो लहरको कोरोना मत्थर हुदै गएपछि बौरिएको राजश्व असुली पुन ओमिक्रोन भाइरसको त्रास र जोखिम संँगै गिरावट आएको छ । चालु आवको मंसीरसम्म आन्तरिक राजश्व कार्यालयको राजश्व असुली सन्तोषजनक देखिएपनि कोरोना त्रास र पछिल्लो समय बैकिङ्ग तरलता अभावले पुन घट्दै गएको कार्यालयले जनाएको छ । जस अनुसार कार्यालयको अनुसार चालु आवको ०७८,०७९ को पुष महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व लक्ष्यभन्दा २९ प्रतिशतले घटेको हो ।
विभागले पुष महिनाको लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार मात्र असुली गरेको छ । कार्यालयले लक्ष्यको अनुपातमा ७१ दशमलब २३ प्रतिशत राजश्व असुली गरेको हो ।
यस कार्यालयको राजश्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शिर्षकमा पुष महिनामा भारी गिरावट आएको छ । सो महिनामा लक्ष्यको तुलनामा ५९ दशमलब शुन्य एक प्रतिशत राजश्व संकलन गरेको छ । जसअनुसार पुष महिनामा यो शिर्षकमा विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार रुपैंया लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैंया मात्र असुली गरेको छ ।
कार्यालयले सो महिनामा आयकर , बहालकर र स्वास्थ्य सेवा कर बाहेक अन्य शिर्षकमा कुनै पनि लक्ष्य भेट्टाएको छैन । जस अनुसार आयकर शिर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिईएकोमा ५३ करोड ७८ लाख १५ हजार रुपैया , बहालकर शिर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार रुपैंया र स्वास्थ्य सेवा कर शिर्षकमा ६ लाख ६८ हजार लक्ष्य लिएकोमा पुष महिनामा १८ लाख ७४ हजार रुपैंया राजश्व संकलन गरेको छ ।
यस्तै मुल्य अभिवृद्धि कर र व्याजकरमा पनि लक्ष्य अनुसार राजश्व असुली भएको छैन । जस अनुसार मुअक शिर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार रुपैंया र व्याजकर शिर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार रुपैंया असुली गरेको छ ।
कार्यालयका सूचना अधिकारी कर अधिकृत हरि ढकालले पछिल्ला महिनाहरुमा कोरोनाको त्रास र जोखिमका कारण मानिसहरुमा क्रयशक्ति कम भएकोले मदिराजन्य वस्तुको कारोबार कम भई राजश्व संकलनमा पनि असर परेको बताउनु भयो । ‘कोरोनाले गर्दा अझै पनि बजार बौरिएको अवस्था छैन, उहांँले भन्नुभयो , सबैक्षेत्रको कारोबार सुस्त हुंँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ अहिलेको चाडबाडको समयमा मानिससंँग क्रयशक्ति लगायत आय पनि बढ्दा उक्त समयमा राजश्व असुली बढेको तर पुष महिनामा पुनः ओमिक्रोन भाइरसको त्रास बढेकोले लक्ष्य भन्दा कम राजश्व असुली भएको उहांँको भनाई छ । ‘यो महिना मानिस फेरी पर्ख र हेरको अवस्थामा रहे, उहांँले भन्नुभयो , पछिल्ला महिनामा तरलताको पनि चरम अभाव भयो ।’
यो कार्यालयको राजश्वनै अन्तःशुल्क राजश्वमा भरपर्ने हुनाले यो महिनाको कुल राजश्व संकलनमा असर परेको हो ।
‘अन्य शिर्षकमा जतिसुकै राजश्व असुली भएपनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजश्व संकलन भएन भने गम्भिर असर गर्छ ।’ ढकालले भन्नुभयो ।
विभागले चालु आवको पुष महिनासम्म ९ अर्ब ६५ करोड ५१ लाख २ हजार लक्ष्य दिएकोमा ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैंया संकलन गरेको छ । विभागले यस बर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयांँ असुलीको लक्ष्य दिएको छ ।