चितवन । चितवनमा पछिल्ला समय शहरीखण्डका सडक र राजमार्गमा भन्दा भित्री सडकमा दुर्घटनाको संख्या संँगै मानवीय क्षति हुने गरेको पाईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय , चितवनका अनुसार चितवनमा चालु आर्थिक बर्ष ०७८ , ७९ को
पौष महिनासम्म चितवनका भित्री सडकमा भएको दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो भने १८३ जना घाईते भएका थिए । सो अवधिमा भित्री सडकमा मात्रै ११७ वटा सवारी दुर्घटना भएको थियोे । यस्तै सबैभन्दा कम मृत्यु शहरी खण्डमा ३ जनाको मृत्यु भएको छ भने २९ जना घाईते भएका छन । सो अवधिमा उक्त सडकखण्डमा २१ वटा सवारी दुर्घटना भएका थिए ।
कार्यालयका अनुसार पूर्व पश्चिम लोकमार्गमा १८ जनाको मृत्यु १०८ जना घाईते भएका थिए । सो अवधिमा ६३ वटा सवारी दुर्घटना भएको थियो । नारायणगढ मुग्लिन सडकखण्डमा १४ को मृत्यु , १०१ जना घाईते र ४९ वटा सवारी दुर्घटना र पृथ्वीराजमार्गमा पांँचजनाको मृत्यु , २३ जना घाईते र १३ वटा सवारी दुर्घटना भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले केही बर्षअघि शहरीखण्ड तथा नारायणगढ मुग्लिन सडकमा बढी दुर्घटना भएपनि पछिल्ला समय भित्री सडकमा बढी हुने गरेको बताउनु भयो । ‘पहिला सडकको दुरावस्था र पहिरोले नारायणगढ मुग्लिन सडकखण्डमा बढी दुर्घटना र क्षति हुन्थ्यो ,उहांँले भन्नुभयो , अहिले भित्रीसडकमा बढी चालकको लापरवाही बढी देखिएको छ ।’
राजमार्ग र शहरीखण्डमा ट्राफिक प्रहरीको निगरानी र पहुंँच भएपनि भित्री सडक तथा ग्रामिण क्षेत्रमामा ट्राफिक प्रहरीको पहुंँच र जनशक्ति कम भएकोले पनि भित्री सडकमा दुर्घटनाको संख्यका साथै मृत्यु र घाईते पनि बढी हुने गरेको उहांँको भनाई छ । बिशेष गरी सवारीसाधनको चापको तुलनामा सडकको स्तरोन्नति नहुनु, सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु र भार बोक्नुको कारण पनि दुर्घटना संँगै मानवीय क्षति हुने गरेको थापाले बताउनु भयो ।
चालु आवकोे ६ महिनामा चितवनमा सवारी दुर्घटनाबाट कुल ७१ जनाको मृत्यु भएको छ भने ४४४ जना घाईते भएका थिए । सो अवधिमा २६३ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।