काठमाडौं । गत शुक्रवारदेखि निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २६ लाखभन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलवार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदकबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्याएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६ दशमलव ६५ गुणाले बढी हो ।
कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी बाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ ।
हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ ।
कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ ।
कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ ।