चितवन । चितवनमा विश्व हिन्दू युवा संघको प्रथम राष्ट्रिय भेला हुने भएको छ । चितवनको देवघाटस्थित बागेश्वरी आश्रम परिषरमा फागुन ८ देखि १० गते राष्ट्रिय भेला हुने आज भरतपुर मा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रिय अध्यक्ष ऋृषिकेश जंग शाहले भेलामा आगामी योजना र यस अघिका कार्यहरुको समिक्षा हुने जानकारी दिए । देवघाट हिन्दुहरुको ठूलो पवित्र स्थल भएकोले उक्त स्थान रोजिएको शाहको भनाई छ । बशुदैव कुटुम्बकम भन्ने मुल नाराका साथ राष्ट्रिय एकताको लागि सबै हिन्दुहरु एक हौं भन्ने सन्देश दिनपनि भेलाको आयोजना गरिएको हो ।
भेलाले योगी नरहरिनाथले स्थापना गर्न खोजेको पञ्चभाषा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक निर्णय र तयारी समितिहरु निर्माण गर्ने शाहले बताए ।
भेलाले गोरक्षा, गाई र गाँजाको संरक्षण तथा सम्वर्द्धन गर्दै देशव्यापी अभियान सञ्चालन गरेर समृद्ध गुरु राष्ट्र निर्माण सफल बनाउनका लागि पहल गरिने उनको भनाई छ । यस्तै देशभर रहेका मौलिक मठ, मन्दिर, धर्म, संस्कार, संस्कृति, मौलिक ज्ञान तथा सिपहरुको रक्षा र विज्ञान प्रविधिसँग जोड्दै समृद्ध राष्ट्र निर्माणका लागि समेत पहल गरिने उनले बताए ।
मौलिक शिक्षाका लागि रैथाने विश्वविद्यालय, वास्तुकला विश्वविद्यालय, पञ्चकब्य अध्ययन अनुसन्धान केन्द्र, गोरक्षानाथ विश्वविद्यालय स्थापना र सञ्चालन तथा लिपुलेक कलापानी क्षेत्रमा व्यासधाम निर्माणका लागि पनि भेलाले पहल गर्नेछ ।
भेलाबाट एक हजार केन्द्रीय समिति थप गरेर परिचालन गरिने समेत शाहले जानकारी दिए । उनका अनुसार चितवनका घर घरमा ॐ को झन्डा राखेर भेलाको स्वागतका लागि आह्वान गरिनेछ ।
चितवनबाट राजनीतिक तथा धार्मिक तरंग पैदा हुने भएकोले प्रथम राष्ट्रिय भेला चितवनमा आयोजना गरिएको संघका जिल्ला अध्यक्ष प्रेम गैरेले बताए । केही समयमा नै हिन्दूवादी आन्दोलन समेत गरिने उनले बताए । हिन्दू राष्ट्र कायमका लागि सरकारलाई दबाब दिइने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै देशलाई शान्त सुन्दर र समृद्धि बनाउन हिन्दु युवा संघको आवश्यकता रहेको भन्दै देशका सबै युवाहरुलाई जागरुक हुन पनि भेलाको आवश्यकता रहेको युवा संघका चितवन अध्यक्ष घनश्याम पौडेलले बताए । भेलामा पाँच सय प्रतिनिधिहरु सहभागि हुनेछन ।