चितवन । पछिल्ला महिनाहरुमा मदिराजन्य बस्तुको कारोबारमा घटेसंँगै आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व संकलनमा कमी आएको छ । चालु आर्थिक बर्ष ०७८,०७९को माघ महिनामा १ अर्ब ७ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार माघ महिनामा राजश्व विभागले १ अर्ब ५१ करोड ५० लाख ७४ हजार लक्ष्य दिईएकोमा सो महिनामा सबै शिर्षक गरी १ अर्ब ७ करोड १ लाख ५१ हजार संकलन गरेको हो । जसअनुसार यो असुली लक्ष्य भन्दा २९ दशमलव २७ प्रतिशतले कमी हो । अघिल्लो महिनामा पनि कार्यालयले लक्ष्य अनुसार कर असुली गर्न सकेको थिएन । यस कार्यालयमा अन्तशुल्क शिर्षकबाट मात्र कुल रकमको ८० प्रतिशतसम्म राजश्व उठ्ने गर्दछ ।
माघ महिनामा सबै शिर्षकमध्ये कार्यालयले आयकर र स्वास्थ्य सेवा शिर्षकबाट मात्रै लक्ष्यभन्दा बढी कर असुलेको छ । जसअनुसार विभागले माघ महिनामा कार्यलयलाई ८ करोड २० लाख ७७ हजार लक्ष्य दिईएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैया संकलन गरेको छ भने स्वास्थ्य सेवा करमा ३ लाख ७१ हजार लक्ष्य दिइएकोमा १९ लाख १० हजार रुपैंया राजश्व संकलन गरेको छ । यस्तै सबैभन्दा बढी कर संकलन अन्तशुल्कबाट भएको छ भने शिक्षा सेवाबाट कुनैपनि रकम संकलन भएको छैन ।
कार्यालयले सो महिनामा अन्तशुल्कबाट ७७ करोड ११ लाख ७४ हजार रुपैंया संकलन गरेको । उक्त महिनामा विभागले कार्यालयलाई १ अर्ब २० करोड ८४ लाख ८६ हजार रुपैंया असुली गर्ने लक्ष्य दिएको थियो भने शिक्षा सेवा शिर्षकमा माघ महिनामा ४ लाख ६५ हजार रुपैंया असुली लक्ष्य दिएकोमा शुन्य रकम संकलन भएको हो ।
दोस्रो सबैभन्दा बढी कर असुली मुल्य अभिवृद्धि करबाट १२ करोड ६६ लाख ८१ हजार रुपैंया कर असुली भएको छ । यो शिर्षकमा विभागले १६ करोड ३७ लाख ५० हजार रुपैंया राजश्व संकलन लक्ष्य दिएको थियो । यसैगरी बहाल कर शिर्षकमा ४४ लाख ७२ हजार रुपैंया लक्ष्य दिएकोमा ३४ लाख ८५ हजार रुपैयांँ संकलन र ब्याजकर शिर्षकमा ५५ करोड ४५ लाख ३ हजार रुपैंया लक्ष्य दिईएकोमा १५ करोड ४ लाख ८५ हजार रुपैंया राजश्व असुली भएको छ ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले कोरोनाकै कारण आर्थिक गतिविधि हुंँदा राजश्व संकलन लक्ष्य अनुसार भेट्टाउन नसकिएको बताउनु भयो । ‘कोरोनाका कारण आर्थिक गतिविधि सुस्त पनि भयो, लम्सालले भन्नुभयो , जाडो याममा बियरको खपत कम भएकोले पनि अन्तशुल्क शिर्षकमा लक्ष्य भन्दा कम संकलन हुंँदा समग्र रुपमा असर परेको हो ।’ आयकर शिर्षकमा पुष महिनामा तिर्नुपर्ने रकम माघमा पनि आउने भएको लक्ष्य भन्दा बढी संकलन भएको र स्वास्थ्य सेवा कर शिर्षकको बक्यौता रकम असुली भएकोले लक्ष्य भन्दा बढी उठेको उहांँले बताउनुभयो । ‘हाम्रो सबैभन्दा बढी करको स्रोत अन्तशुल्क, मुअक र आयकरनै हो , उहांँले भन्नुभयो, अन्य शिर्षकमा घटबढ हुंँदा खासै लक्ष्यमा असर पर्दैन ।’
गर्मी याम शुरु भएसंँगै बियर लगायत अन्य पेय पदार्थको उत्पादन र बिक्री बढ्ने भएकोले आगामी महिनाबाट कर संकलन अपेक्षित हुने उहांँको भनाई छ ।
विभागले चालु आबको लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार लक्ष्य दिएकोमा ७ महिनासम्म कुल ११ अर्ब १७ करोड ५ लाख ८७ हजार रुपैंया राजश्व असुली गरेको छ ।