काठमाडौं । फागुन १ गते नै सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार आगामी सातादेखि शुरु हुने भएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले आगामी सातादेखि कम्पनीको शेयर कारोबार हुने जानकारी दिएका हुन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा पहिलो चरणको काम सम्पन्न गरी बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणका लागि प्रकृया अघि बढाइ सकिएको जानकारी थकालीले दिएका हुन् ।
कम्पनीको शेयर कारोबारयोग्य बनाउनका लागि सम्पूर्ण प्रकृया पूरा भएपनि काठमाडौं बाहिरको कम्पनी भएकाले सम्बन्धित कम्पनीको प्रमुखले गर्नुपर्ने हस्ताक्षर प्रकृया बाँकी रहेकाले सूचीकरणमा ढिलाई भएको जानकारी उनले दिए ।
यो कार्यका लागि सम्बन्धित कम्पनीका प्रतिनिधिहरु उपस्थित भई आगामी साताभित्र दोस्रो बजारमा शेयर सूचीकरणको प्रकृया सम्पन्न गर्ने जानकारी थकालीले दिएका छन् ।
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुमा र ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
संस्थापकतर्फ रू. १० करोड ७८ लाख चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई शेयर बाँडफाँटपछि चुक्तापूूँजी रू. १६ करोड पुगेको छ ।
सर्वसाधारणतर्फ ३२ दशमलव ६३ प्रतिशत शेयर बाँडफाँट गरेको कम्पनीको संस्थापकतर्फ ६७ दशमलव ३८ प्रतिशत शेयर स्वामित्व कायम रहेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणतर्फको गरी १६ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउनेछ ।