चितवन । नेवाः पत्रकार राष्ट्रिय दवु चितवन शाखाको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा औपचारिक रुपमा बिहीबार उद्घाटन गरिएकोे हो ।
कार्यालयको नेवा पत्रकार राष्ट्रिय दवु चितवनका संरक्षक एवं पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्धघाटनपछि बोल्दै नेवा : पत्रकार दबू चितवनका संरक्षक श्रेष्ठले चितवनमा पत्रकारिताको विकास हुँदै गएको बताए । अहिले बिभिन्न जात जातीले पत्रकारहरुको संगठन स्थापना गर्दै जानु सुखद र सबल पक्ष भएको उनको भनाइ थियो ।
पहिले भागवण्डा राजनीतिक आस्थाका आधारमा पत्रकार महासंघको सदस्यता वितरण हुने गरेकोमा पछिल्ला बर्षहरुमा सक्रियता आधारमा सदस्यता वितरण हुने गरेको भन्दै उनले खुशी व्यक्त गरे ।यस्तै उनले चितवनमा नेवा पत्रकारहरुको संख्या बढ्दै गए पनि सक्रियतामा अझै जोड दिन आवश्यक रहेको औंल्याए ।
पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले प्रक्रिया पुरा गरेर आउने नेवाः पत्रकारहरुलाई महासंघले सदस्यता दिने बताए । उनले पत्रकारितामा सक्रियता बढाउन पनि नेवाः पत्रकारहरुलाई सुझाव दिए ।
उनले महासंघले यसै महिनाबाट जेष्ठ पत्रकारहरुलाई पेन्सन दिने तयारी गरिरहेको बताए । यस्तै चितवनमा पत्रकारहरुलाई परीक्षण केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढीरहेको उनले जानकारी दिए ।
यसैबीच अधिकारीले नेवा पत्रकार दवु चितवनको कार्यालयका व्यक्तिगत रुपमा एक महिनाको भाडा व्यक्तिगत रुपमा उपलब्ध गराउने घोषणा गरे । उनले आगामी दिनमा पनि कार्यालय सञ्चालनका लागि आवश्यक सहयोग र समन्वय गर्ने समेत विश्वास दिलाए ।
नेवा पत्रकारहरुलाई थप सक्रिय बनाउन तथा संघले गर्ने कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अघि बढाउनका लागि कार्यालय स्थापना गरिएको नेवा पत्रकार दवु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले बताए । पत्रकार महासंघमा नेवा पत्रकारहरुको संख्या र सक्रियता बढाउन संघले जोड दिने उनको भनाइ थियो । आगामी दिनमा नेवार पत्रकारहरुको संख्या र सक्रियता बढाउंँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नेवाः पत्रकार दबूले आगामी दिनमा रचनात्मक तथा सिर्जनात्मक कार्यमा जोड दिदै लैजाने बताए । कार्यक्रममा अग्रज पत्रकार अमर प्रधान, सल्लाहकार दिनेश श्रेष्ठ लगायतले नेवा पत्रकार दबूले पत्रकारितालाई व्यवसायिक, क्रियाशील एवं मर्यादित लैजाने बिषयमा जोड दिएका थिए ।
नेवा पत्रकार दबूले होलीको अबसर पारेर होली बिशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।