चितवन । चितवनको रत्ननगरमा एक बर्ष भित्र पठनपाठन सञ्चालन गर्ने गरी इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालय र रत्ननगर नगरपालिका बीच आज(शुक्रबार )सम्झौता भएको छ ।
सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । पोखरा विश्व विद्यालयका उपकुलपति
प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् ।
विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर– १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । कलेज सञ्चालनको लागि रत्ननगर नगरपालिकाले सार्मथ्यले भ्याए सम्म बजेट उपलब्ध गराउने छ । मेयर वनले कलेजको पूर्वाधार निर्माणको लागि एक करोड रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
‘इन्जिनियरिङ कलेज रत्ननगरको गहना हो, उनले भने, यसको सञ्चालनको लागि सकेसम्म लगानी गर्नेछौं ।’ मेयर वनले आर्थिक अबस्था कमजोर भएका नगरबासीका छोराछोरीलाई इञ्जिनियर बनाउन कलेज सञ्चालन गर्न लागिएको बताए ।
कार्यक्रममा विश्व विद्यालयका रजिष्टार डा.विनोद भण्डारीले स्थापनाको २५ बर्ष पछि विश्व विद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलो पटक
रत्ननगरमा आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए । आगामी शैक्षिक सत्रबाट रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनाका साथ विश्व विद्यालय रत्ननगर आएको उनको भनाई छ । एक बर्षमा ८० अर्ब रुपैया शिक्षाको लागि विदेशिने भन्दै उनले यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको बताए । उपकुलपति आचार्यले पोखरा विश्व विद्यालयको इतिहासमै पोखरा बाहिर आङ्गिक कलेज स्थापना गर्न लागिएको भन्दै यसको सञ्चालनको लागि तीनै तहका सरकारको आवश्यकता हुने बताए ।
‘आङ्गिक कलेज सधै घाटामा चल्ने विद्यालय हो । यसको दीर्घकालिन सञ्चालनको लागि सरकारको सहयोग जरुरी रहन्छ । हिम्मत गरेर हामी रत्ननगर आएका छौं । यो चितवनको विकासको प्रमुख आधारका रुपमा स्थापित हुने छ । ’उनले भने ।