चितवन, चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनका पाँच दलबीच सहमति भएको छ । सोमबार नारायणगढमा बसेको गठबन्धनको बैठकले गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाज्बादी पार्टी र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने सहमति भएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनु भयो ।
चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन भने नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने गरि निर्णय भएको छ ।
सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजबादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गर्नुभएको छ ।
कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकले दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।