चितवन । कम्युटर एशोसियसन नेपाल महासंघ,(क्यान)चितवनले नयांँ बर्षको अवसरमा क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ,चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ क्यानका केन्द्रिय सदस्य भानु शर्मा र क्यान चितवन अध्यक्ष सन्तोषजनक भुषालले संयुक्त रुपमा गरे ।
विमोचन पछि बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विश्वमा सूचना प्रविधिमा व्यापक परिवर्तन र विकास भएपनि नेपालमा सोचेजस्तो विकास हुन नसकेको बताए । सरकारको नीतिकै कारण रोवोट प्रविधि जस्ता नवीनतम प्रविधि नेपाल भित्र्याउन नसकेको भन्दै उनले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।
विश्वका अधिकांश धनाढ्य व्यक्ति सूचना प्रविधि क्षेत्रकै रहेको भन्दै श्रेष्ठले सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानी तथा अनुसन्धान गर्ने वातावरण तय गर्नुपर्ने बताए । चितवनमा पनि आइटीपार्कको बिषयमा चर्चा भएको भन्दै उनले संभावना भएको यो जिल्लालाई देशकै आईटीको हब बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै क्यानका केन्द्रिय सदस्य भानु शर्माले यो क्षेत्र बोली र भाषणमा चर्चा र विषय उठान गरिएपनि व्यवहारिक रुपमा प्रगति हुन नसकेको बताए । यस क्षेत्रको लागि व्यवसायीको भूमिका पनि उत्तिकै रहने शर्माको भनाई थियो । चितवन शिक्षा ,स्वास्थ्य , कृषि पर्यटनको हब भएपनि सूचना प्रविधिको हब बन्न नसकेको भन्दै उनले यस क्षेत्रबाट पनि मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।
कार्यक्रमका सभापति एवं क्यान,चितवनका अध्यक्ष सन्तोषजनक भुषालले भारत लगायत अन्य देशमा कुल ग्राहस्थ उत्पादनमा सूचना प्रविधिले उल्लेखनीय योगदान दिएपनि नेपालले यस क्षेत्रमा प्रगति गर्न नसकेको बताए । सूचना प्रविधिको लागि नीजि क्षेत्र लगायत अन्य संघसंस्था संँग सहकार्य गरी यस क्षेत्रमा फड्को मानुपर्नेमा भुषालले जोड दिए । सो अवसरमा उद्योग वाणिज्य संघ, चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत एवं बधाई दिईएको थियो ।
कार्यक्रममा क्यानका पदाधिकारी तथा प्रतिनिधि, संघका पदाधिकारी तथा सदस्य , क्यानका सदस्य तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन क्यानका सचिव टेकलाल भुषालले गरेका थिए ।